काठमाण्डौ । धनुषामा शनिबार एक मस्जिदमा भएको तोडफोडको घटनापछि वीरगञ्जमा दुई समुदायबीच तनाव बढेसँगै आज दिउँसो १ बजेदेखि वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएका हुन्। यसअनुसार कुनै पनि किसिमको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न पाइने छैन। उल्लङ्घन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने बताइएको छ।
निषेधाज्ञा पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेट सम्मको क्षेत्रमा लागू गरिएको छ।
वीरगञ्जमा हिजोदेखि मुस्लिम समुदायले प्रदर्शन सुरु गरेका थिए। आज हिन्दु समुदायले पनि जय श्रीरामको नारा लगाउँदै प्रदर्शन गर्दा सामाजिक तनाव अझ बढेको छ। स्थानीय प्रशासनले दुवै पक्षलाई शान्त रहन र विवाद नगर्न आग्रह गरेको छ।

