काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०५ प्रतिशत अर्थात १.५३ अंकले बढेर २ हजार ६९५.७३ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१६ प्रतिशतले घटेर ४५९.१६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर ८ अर्ब २२ करोड ३९ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ९ अर्ब १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘बजारमा एक चरणको करेक्सन सकिएको जस्तो देखिन्छ, जसकारण आज बजार केही सम्हालिएको छ । केही दिनअघि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने भन्ने हल्लाले बजारलाई प्रभाव पारेको थियो । तर त्यो हल्ला अब पुरा नहुने जस्तो देखिएकाले बजार केही सम्हालिन पुगेको जस्तो देखिन्छ । साथै चुनावी माहोल छ, चुनावपछि आउने सरकारले सेयरबजारलाई गतिशिल बनाउने र जेनजीहरुको माग सम्बोधन गर्ने भन्ने आशाले लगानीकर्ताहरु उत्साहित छन् ।’
उनले थपे, ‘साथै अब आउने सरकारले लगानीको वातावरण राम्रो बनाइदिने भन्ने आशा आम लगानीकर्ताहरुको छ । सबैजसो दलहरुले आफ्नो एजेण्डामा पूँजीबजारलाई समेटेको हुँदा वातावरण राम्रो होला भन्ने अपेक्षा छ । साथै दीर्घकालिन लगानीकर्तालाई चिन्ताको विषय छैन, बजार अब सम्हालिदै माथि जान्छ भन्ने विश्वास छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो । आज होटल समूह सर्वाधिक बढ्यो । यो समूह आज १.७७ प्रतिशतले बढ्यो ।
यस्तै विकास बैंक समूह ०.७२ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४५, निर्जीवन बीमा ०.१९ र व्यापार ०.०२ प्रतिशतले बढ्यो ।
फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.८९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.०९ प्रतिशत, हाईड्रो ०.१३, लगानी ०.१९, जीवन बीमा ०.३५, लघुवित्त ०.१६, म्युचुअल फण्ड ०.१० र अन्य ०.२५ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४१ करोड ४९ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, एसवाई प्यानलको ३८ करोड ५० लाख, बन्दीपुर केवलकारको २८ करोड ४१ लाख, राधी विद्युतको २८ करोड २८ लाख र पिपुल्स पावरको २४ करोड ९६ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक, हिमस्टार उर्जा, सान्भी इनर्जी र बन्दीपुर केवलकारको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
ट्रेड टावरको सेयरमूल्य पनि आज ८.९४ प्रतिशत, दरमखोला हाईड्रोको ७.२४ र सिन्धु विकास बैंकको सेयरमूल्य ६.८६ प्रतिशतले बढ्यो ।
आज एउटा कम्पनीको सेयरमूल्यमा लोवर सर्किट लाग्यो । आज मिथिला लघुवित्तको सेयरमूल्यमा लोवर सर्किट लाग्यो । यस्तै क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य ५.५३ प्रतिशत, शिवश्री हाईड्रोको ५ र राप्ती हाईड्रोको सेयरमूल्य ४.०५ प्रतिशतले घट्यो ।

