काठमाण्डौ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले नेपाल क्लियरिङ्ग हाउससँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्न सम्झौता गरेर एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी (संकलन तथा वितरण) शुरु गरेको छ । सम्झौतापत्रमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका तर्फबाट संस्थाका कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता पश्चात् काठमाण्र्डा उपत्यका खानेपानी लिमिटेडको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न शुरु गरेको हो । यस अन्तर्गत काठमाण्डौ उपत्यका खानेपानीले एनसीएचएल(आईपीएस र आरपीएस प्रणालीहरु मार्फत तलब भुक्तानी, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सक्नेछन ।
उक्त कारोबारहरु केयुकेयलको बैंक खाताबाट सोझै लाभग्राही वा ग्राहकहरुले आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । साथै, केयुकेयलले अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू गर्ने योजना रहेको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढि गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
यस मार्फत सदस्यहरुले संस्थाहरुको एनसीएचएल–आईपीएस र आरपीएस प्रणालीहरुको प्रयोग गर्न सक्छन् ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यका भित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त गरेको छ । केयुकेयलको सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले संस्थाले लामो समयदेखि आवश्यक रहेको डिजिटाइजेशन अभियानको थालनी गर्दै आफ्न बिलिङ्ग तथा भुक्तानी प्रक्रियाहरु स्वचालित गर्ने पहल गरेको छ ।

