काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । नियामकीय प्रावधान मिचेको भन्दै केन्द्रीय बैंकले एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो ।
केन्द्रीय बैंकले चालु आव २०८२/८३ को दोस्रो त्रैमासमा उक्त तीन बैंकलाई पहिलोपटक कारबाही गरेको हो ।
उक्त तीन बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल आइएमई बैंकलाई सचेत गराइएको छ भने एनआइसी एशिया बैंकलाई २ लाख नगद जरिवाना गराइएको छ ।
कुन बैंकलाई कति कारबाही ?
एनआईसी एसिया बैंक
राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको र राष्ट्र बैंकबाट एनआईसी एसिया बैंकलाई जारी गरिएको लिखित आदेशको समेत पालना नभएको पाइएकोले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम २–२ लाख नगद जरिवाना गराइएको छ ।
ग्लोबल आइएमई बैंक
स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ का आधारमा राष्ट्र बैंकले देहायको कैफियतका सम्बन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, (२)५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को नं २ ०८१ को व्यवस्थाअनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको (एइजिङ वाइज कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनरतालिकीकरण र पुनरसंरचनासम्बन्धी व्यवस्था पूर्ण रुपमा पालना नगरेको) सम्बन्धमा समेत बैंकलाई सचेत सगराएको छ ।
त्यस्तै, बैंकको स्थलगत निरीक्षणका क्रममा कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै भ्यालु डेट राखी पुनः सिर्जना गर्न सक्ने अवस्था रहेको पाइएकोमा राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई सचेत गराएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
नेपाल राष्ट्र बैंकबाट जारी गरिएको इ.प्रा. निर्देशन नं. २÷०८१ को बुँदा नं ३ (ज) को पूर्ण अनुपालना नगरी कर्जाको सुरक्षण नहुने किसिमले कर्जासँग सम्बन्धित कागजातहरुमा ग्राहकको सहीछाप नगराई तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको, इ.प्रा. निर्देशन नं. १५÷०८१ को बुँदा नं. ३ ७० को पूर्ण अनुपालना नगरी एउटै प्रकृतिका कर्जाहरुको ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले कायम गरेको तथा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ बुँदा नं. ८.५ र १०.१२ को पूर्ण अनुपालना नगरी त्रयमासको अन्तिम महिनाहरुमा नयाँ अल्पकालीन कर्जाहरु प्रवाह गरेको र उक्त कर्जाहरुलाई कर्जा असुलीमा प्रयोग गरेको पाइएकोले बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको छ ।

