काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । जेठ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले महर्जनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
सीईओको रुपमा उनको यो दोस्रो कार्यकाल हो । उनलाई आगामी जेठ १८ गतेदेखि लागू हुनेगरी सीईओमा पुनः नियुक्त गरिएको हो । उनका्े कार्यकाल ४ वर्षको हुनेछ । अर्थात उनी कम्पनीको सीईओको रुपमा विसं २०८७ जेठ १७ गतेसम्म कायम रहनेछन् ।
बीमा क्षेत्रमा करिब तीन दशकभन्दा बढी अनुभव भएका अनुभवी बीमा विज्ञ वीरकृष्ण महर्जन यसअघि २०७९ मा कम्पनीको सीईओ नियुक्त भएका थिए ।
महर्जनसँग बीमा क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव रहेको छ। उनले व्यवस्थापन क्षेत्रमा स्नातकोत्तर(एमबीए) गरेका छन् भने उनी कानूनमा स्नातक पनि हुन्। साथै, उनले भारतको मुम्बईस्थित इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोशिप डिग्री हासिल गरेका छन्।
उनले आफ्नो व्यावसायिक यात्रा सन् १९९७ जनवरीमा भारत सरकारद्वारा पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सुरु गरेका थिए।
नेपालको बीमा क्षेत्रमा प्रवेश गर्नु अघि महर्जनले करिब १४ वर्षसम्म प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडमा सीईओका रूपमा नेतृत्व प्रदान गरेका थिए।
त्यसपछि उनी सन् २०२१ को अक्टोबरमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएका थिए।
बीमा क्षेत्रको दीर्घ अनुभव र व्यवस्थापकीय दक्षताल कम्पनीलाई अघि बढाउन सहयोग पुग्ने् अपेक्षा गरिएको छ ।

