काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने लक्ष्य लिएको छ। यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले मतगणना प्रक्रिया छिटो र प्रभावकारी रूपमा अघि बढ्ने आयोगको विश्वास छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका संकलनदेखि गणनासम्मको सम्पूर्ण प्रक्रिया व्यवस्थित ढंगले सञ्चालन गरिने जानकारी दिए। उनले प्रत्यक्षतर्फको परिणाम २४ घण्टाभित्र घोषणा गर्ने तयारी भईरहेको जानकारी दिए ।
समानुपातिकतर्फको मतपरिणाम भने एक–दुई दिनभित्र सार्वजनिक हुने जनाइएको छ। आयोगका अनुसार मतपत्र छपाइ, ढुवानी र वितरणलगायतका जटिल व्यवस्थापकीय कार्य सम्पन्न भइसकेका छन्। उपत्यकाबाहिर मतपत्र पठाइसकिएको र काठमाण्डौ, ललितपुर तथा भक्तपुरका केही बाँकी स्थानमा समेत वितरण कार्य अन्तिम चरणमा पुगेको छ।
मतदान अधिकृतहरूको तालिम सम्पन्न भई आवश्यक सामग्रीसहित उनीहरू सम्बन्धित मतदान केन्द्रतर्फ खटिने क्रम जारी रहेको आयोगले जनाएको छ। आयोग अहिले पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताइएको छ।
हिमाली तथा दुर्गम क्षेत्रमा मतदातालाई मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नदिन आयोग लचिलो रणनीतिमा रहेको छ। भौगोलिक विकटता र प्रतिकूल मौसमको अवस्थालाई ध्यानमा राख्दै आवश्यक परे अस्थायी मतदान केन्द्र निर्धारण वा मतदातासम्म पुगेर मत संकलन गर्ने विकल्पसमेत खुला राखिएको भण्डारीले स्पष्ट पारे।
निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना र अफवाहप्रति सचेत रहन आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ। स्वच्छ र निष्पक्ष प्रतिस्पर्धाबाट मात्रै विश्वसनीय नेतृत्व चयन हुने भन्दै आयोगले राजनीतिक दलहरूलाई पनि संयमित र जिम्मेवार व्यवहार गर्न अपिल गरेको छ।

