काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा सहज बनाउन एक अटो (सेवा वाहन) प्रदान गरेको छ । शुक्रबार आश्रम परिसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त वाहन हस्तान्तरण गरेका हुन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले सेवा वाहन अभावका कारण दैनिक कार्य सञ्चालनमा कठिनाइ भइरहेको अवस्थामा अब सेवा प्रवाह थप सहज हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा सिइओ ज्ञवालीले सडक आश्रित मानवहरूको उद्धार र व्यवस्थापनमा आश्रमले गरिरहेको काम प्रशंसनीय रहेको बताए । उनले यस्ता मानवीय कार्यमा सहकार्य गर्न पाउँदा बैंकलाई गर्व लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता पहलमा सहकार्य जारी रहने प्रतिबद्धता जनाए ।
आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन नहुँदा उद्धार तथा दैनिक सेवा प्रवाहमा समस्या भइरहेको बताउँदै बैंकको सहयोगले अब ती कामहरू छिटो र प्रभावकारी रूपमा गर्न सकिने बताए । उनले नबिल बैंकप्रति आभार व्यक्त गर्दै यो सहयोगले ठूलो राहत पुगेको धारणा राखे ।
यसअघि पनि नबिल बैंकले आश्रमलाई दुई वटा उद्धार वाहन उपलब्ध गराइसकेको छ । २०६० सालदेखि सञ्चालनमा रहेको मानवसेवा आश्रमले सातै प्रदेशमा सेवा विस्तार गर्दै हालसम्म करिब १३ हजार सडक आश्रित व्यक्तिको उद्धार गरिसकेको छ ।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा, सामाजिक उद्यमशीलता र दिगो विकासमा योगदान पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

