काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै एमालेले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी सचिवालयको आजको बैठकले ओलीको पक्राउलाई राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गर्दै चरणबद्ध आन्दोलन अघि बढाउने योजना सार्वजनिक गरेको हो।
बैठकले आजै दिउँसो ३ बजे देशभरका जिल्लाको सदरमुकाममा जनसंगठनको नेतृत्वमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। त्यसैगरी, भोलि (चैत्र १५) प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
एमालेले ओलीको पक्राउलाई लिएर कानुनी र राजनीतिक दुवै मोर्चाबाट सशक्त प्रतिरोध गर्ने स्पष्ट संकेत दिएको छ। साथै, लोकतन्त्र र विधिको शासनमा विश्वास राख्ने राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणसँग सहकार्य र संवाद बढाउँदै आन्दोलनलाई थप सशक्त बनाउने जनाएको छ।
पार्टीले वर्तमान घटनाक्रमलाई गम्भीर रूपमा लिँदै आन्दोलनलाई क्रमशः विस्तार गर्ने रणनीति पनि अघि सारेको छ।

