काठमाण्डौ । नयाँ सरकार गठनपछि औपचारिक भेटघाटको परम्परागत कूटनीतिक क्रम तोड्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पहिलोपटक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्न पुगेका छन्।
सामान्यतः विदेशी कूटनीतिज्ञहरूले नयाँ सरकारका परराष्ट्रमन्त्रीसँग भेट गरेपछि मात्रै प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूलाई शिष्टाचार भेट गर्ने अभ्यास रहँदै आएको छ।
तर यसपटक उक्त अभ्यास विपरीत राजदूत श्रीवास्तव सीधै अर्थ मन्त्रालय पुगेर बिहान ११ बजे अर्थमन्त्री वाग्लेसँग भेट गरेका हुन्।
स्रोतका अनुसार, नयाँ सरकार गठन लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालले विदेशी कूटनीतिज्ञहरूलाई पहिले आफूलाई भेटेपछि मात्रै अन्य मन्त्रीसँग भेट गर्न आग्रह गरेका थिए। तर, उक्त निर्देशन आएको करिब एक सातामै भारतीय राजदूतले अर्थ मन्त्रालयबाट भेटघाट सुरु गर्दै स्थापित कूटनीतिक परम्परामा फरक संकेत देखाएका छन्।

