काठमाण्डौ । NIMB Ace Capital Limited ले व्यवस्थापन गर्दै आएको एनआईबिएल सहभागिता फण्ड अन्तर्गतका लगानीकर्ताको इकाईहरू हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जनाएको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार लामो समयदेखि बीज पुँजीसम्बन्धी व्यवस्थाका कारण रोकिएको इकाई जम्मा प्रक्रिया अब पुनः सुरु गरिएको हो।
Securities Board of Nepal बाट स्वीकृति पाएसँगै फण्डको आकार ६ अर्बबाट बढाएर १० अर्ब रुपैयाँ (१ अर्ब इकाई) पुर्याइएको छ।
सोही स्वीकृतिपछि लगानीकर्ताका इकाईहरू डिम्याट खातामा जम्मा गर्न सुरु गरिएको कम्पनीले जनाएको छ।
नेपालकै ठूलो खुलामुखी म्युचुअल फण्ड
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रवर्द्धनमा सञ्चालन भइरहेको यो फण्ड हाल देशकै सबैभन्दा ठूलो खुलामुखी म्युचुअल फण्ड बनेको दाबी गरिएको छ।
यो योजना २०७६ असार २४ गते सुरु भएको थियो र नेपाल धितोपत्र बोर्डको सामूहिक लगानी कोष नियमावलीअन्तर्गत सञ्चालनमा छ।
फण्डले सेयर, ऋणपत्र, मुद्दती निक्षेप, ट्रेजरी बिलजस्ता विभिन्न उपकरणमा लगानी गर्दै स्थिर प्रतिफल सिर्जना गर्दै आएको छ।
खुलामुखी प्रकृतिका कारण यो फण्ड सेयर बजारमा सूचीकृत छैन, तर योजनाव्यवस्थापकमार्फत सिधै खरिद–बिक्री गर्न सकिन्छ।
कम्पनीले लगानीकर्तालाई आफ्नो मेरो सेयर खातामा लगइन गरी इकाई जम्मा भएको पुष्टि गर्न आग्रह गरेको छ।
साथै, इकाई जम्मा गर्न ढिलाइ भएकोमा कम्पनीले क्षमायाचनासमेत गरेको छ।

