बुधबार, श्रावण ६,२०८३ 06:07:53
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:07:53
Bizshala
Global IME Bank Limited

चितवनमा ५६ करोड लगानीमा ‘एसवाई यूपीभीसी’ उद्योगको शिलान्यास

चितवनमा ५६ करोड लगानीमा ‘एसवाई यूपीभीसी’ उद्योगको शिलान्यास
New Office

काठमाण्डौ। दक्षिण कोरियाको एसवाई कम्पनी लिमिटेडको सहायक संस्था एसवाई प्यानल नेपालले चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवा मा ‘एसवाई यूपीभीसी’ उद्योग स्थापना गर्ने भएको छ। सोमबार आयोजित एक कार्यक्रमबीच उद्योगको शिलान्यास सम्पन्न गरिएको हो।

शिलान्यास कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत होङ सङ–बु ले संयुक्त रूपमा शिलान्यास गरेका थिए।

कार्यक्रममा बोल्दै मेयर सापकोटाले नगर क्षेत्रमा स्थापना हुने उद्योगलाई स्थानीय तहबाट आवश्यक सहजीकरण प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। उनले उद्योग सञ्चालनपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै निर्माण सामग्री उत्पादनमार्फत आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरे। साथै, उद्योगमा स्थानीय श्रमशक्तिलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

उद्योग सञ्चालनमा आएपछि चितवनसहित आसपासका जिल्लामा औद्योगिक विकासले थप गति लिने अपेक्षा गरिएको छ। उक्त उद्योगबाट आधुनिक प्रविधिमा आधारित यूपीभीसी ढोका, झ्यालका प्रोफाइल तथा अन्य निर्माण सामग्री उत्पादन गरिने कम्पनीले जनाएको छ। परम्परागत काठ तथा फलामका सामग्रीको विकल्पका रूपमा यूपीभीसी उत्पादनहरू टिकाउ, हल्का तथा वातावरणमैत्री हुने भएकाले यसको प्रयोग बढ्दै जाने अपेक्षा गरिएको छ।

कम्पनीका सीईओ होङ सङ–बुले कोरियन प्रविधि र नेपाली जनशक्तिको संयोजनबाट उद्योगलाई सफल बनाइने बताए। उनले नेपालमा आर्थिक विकासका अवसरहरू विस्तार हुँदै गएको उल्लेख गर्दै रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उद्योगको अनुमानित लागत ५६ करोड रुपैयाँ रहेको छ। कम्पनीका अनुसार आगामी ६ महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। स्वदेशमै गुणस्तरीय निर्माण सामग्री उत्पादन भएपछि आयातमा निर्भरता घट्ने विश्वास लिइएको छ।

कम्पनीले हालै सार्वजनिक निष्कासन (आईपीओ) मार्फत संकलित रकमलाई यस परियोजनामा लगानी गरेको जनाएको छ। साथै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गरी भविष्यमा विदेशी बजारमा समेत प्रतिस्पर्धी रूपमा निर्यात गर्ने योजना कम्पनीको रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.