काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लागू गर्न लागेको १५ प्रतिशत सर्किट व्यवस्थाप्रति युवा लगानीकर्ताहरूले आलोचनात्मक प्रतिक्रिया दिएका छन्।
उनीहरूले यस्तो निर्णयले बजारका वास्तविक समस्याहरू समाधान नगरी ध्यान अन्यत्र मोड्ने काम गरेको बताएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिपछि नेप्सेले सूचीकृत कम्पनीहरूको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ भएपछि सर्किट लाग्ने व्यवस्था लागू गर्न लागेको हो। यसअघि यस्तो सीमा १० प्रतिशतमा सीमित थियो।
युवा लगानीकर्ता नयन बास्तोलाले पुँजीबजारलाई आधुनिक र प्रविधिमैत्री बनाउने काम अझै अधुरो रहेको उल्लेख गर्दै १५ प्रतिशत सर्किटजस्ता निर्णयले नियामकको प्राथमिकता नै प्रश्नमा परेको बताए। उनका अनुसार बजार सुधारको मूल केन्द्र लगानीकर्ताको सुरक्षा र विश्वास निर्माण हुनुपर्ने हो। “पुँजीबजारलाई पूर्ण रूपमा स्वचालित र अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बेला हो,” उनले भने, “जोखिम व्यवस्थापनका लागि आवश्यक उपकरणहरू लागू गर्नुको सट्टा सीमा परिवर्तनतर्फ ध्यान दिइनु उपयुक्त देखिँदैन।”
उनले बजारमा पारदर्शिता र विश्वसनीयता अभिवृद्धि नगरी गरिएको यस्ता निर्णयले दीर्घकालीन रूपमा जनविश्वास बलियो बनाउन नसक्ने बताए। सीमित स्वार्थ समूहलाई लाभ पुग्ने खालका प्रयासहरू रोक्नुपर्ने र प्रविधिमैत्री सुधारमार्फत मात्र बजारलाई दिगो रूपमा अघि बढाउन सकिने उनको भनाइ छ।
अर्का युवा लगानीकर्ता ताराप्रसाद फूल्लेलले भने हालको बजारको मुख्य समस्या आपूर्ति र मागबीचको असन्तुलन रहेको औंल्याएका छन्। उनका अनुसार बजारमा आपूर्ति धेरै भए पनि माग पक्ष कमजोर रहेको अवस्था छ। “बजारमा सामान धेरै छ, किन्ने मान्छे कम छन्,” उनले भने, “यस्तो अवस्थामा सीमा परिवर्तनले समस्या समाधान गर्दैन, बरु वास्तविक समस्याबाट ध्यान मोड्छ।”
फूल्लेलले बजारलाई चलायमान बनाउने मुख्य आधार माग भएको उल्लेख गर्दै लगानीकर्ताको विश्वास र किन्ने क्षमता बढाउने नीतिहरू आवश्यक रहेको बताए। उनका अनुसार प्राविधिक रूपमा सर्किट सीमा परिवर्तन गर्नुले केही समयका लागि ध्यान आकर्षित गर्न सक्छ, तर दीर्घकालीन समाधान होइन।
उनले यस्तो निर्णय कसको हितका लागि गरिएको हो भन्ने प्रश्नसमेत उठाएका छन्। “यो साना लगानीकर्ताको हितका लागि हो कि केही सीमित समूहको सहजताका लागि?” उनले प्रश्न गरे।
दुवै लगानीकर्ताले बजार सुधारका लागि प्राथमिकता स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार नियम परिवर्तनभन्दा अघि लगानीकर्ताको सुरक्षा, विश्वास र बजारमा माग बढाउने उपायहरूमा ध्यान केन्द्रित गर्न आवश्यक छ।

