काठमाण्डौ। विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। आयोगको गत वैशाख ३ गते बसेको ३०७ औँ बैठकले कम्पनीलाई हाल कायम चुक्ता पूँजी रु. ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० को १ः०.५ अनुपातमा रु. १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० बराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो।
कम्पनीले हकप्रद सेयरबाट संकलन हुने रकममध्ये रु. १०० करोड काबेली बी–१ जलविद्युत आयोजना निर्माणका क्रममा लिएको ऋण भुक्तानीमा खर्च गर्ने जनाएको छ।
त्यस्तै, बाँकी रु. ९४ करोड ७९ लाख रकम काबेली इनर्जी लिमिटेड मार्फत ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनामा लगानी गरिनेछ।
आयोगले हकप्रद सेयरबाट प्राप्त रकम तोकिएको प्रयोजनमै खर्च गर्नुपर्ने र सोको प्रमाणसहित १५ दिनभित्र जानकारी गराउनुपर्ने शर्त राखेको छ।
साथै, प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति तथा सहमति लिने, कर दायित्व पूरा गर्ने तथा नियामकीय निर्देशनहरूको पालना गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

