काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले खूद नाफा बढाएको छ ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ३० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ९६ करोडमा सीमित थियो । यसरी हेर्दा बैंकको नाफा गत वर्षको समान अवधिको तुलनामा करिब ३६ प्रतिशतले बढेको देखिएको छ ।
कर्जा वर्गीकरणमा गरिएको लचक नियामकीय व्यवस्थाका कारण बैंकलाई नाफा बढाउन सहयोग पुगेको देखिन्छ ।
बैंकले कर्जाको सम्भावित जोखिम व्यवस्थापनका लागि गत वर्ष यही अवधिसम्म २ अर्ब १६ करोड बढी रकम इम्प्येरमेन्ट चार्जको रुपमा राखेको थियो, जुन समीक्षा अवधिमा घटेर १ अर्ब ४८ करोडमा सीमित बनेको छ । यसैको प्रभाव नाफामा देखिएको हो ।
बैंकले अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ३३ करोडमा सीमित सञ्चालन मुनाफा बढाएर १ अर्ब ८४ करोड माथि पुर्याएको छ भने यो अवधिमा ४ अर्ब ६७ करोड बढी खूद ब्याज आम्दानी गरेको छ ।
अघिल्लो वर्ष ८.६८ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ११.२३ रुपैयाँ पुगेको छ भने बैंकको खराब कर्जा अनुपात ६.८२ प्रतिशत रहेको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५० करोडले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ गत वर्षको यही अवधिसम्मको १५२.७५ रुपैयाँबाट बढेर १५५.९९ रुपैयाँ पुगेको छ ।

