काठमाण्डौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको बैठक बहिष्कार गरेको छ।
सोमबार बिहान ११ बजेका लागि तय गरिएको बैठकमा पनि प्रधानमन्त्री शाह नआएपछि कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएका हुन्।
बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित भएकबा हुन् ।
कांग्रेसले सुकुमबासी बस्ती हटाउने प्रक्रिया, सुरक्षा प्रशासनको अवस्था लगायतका संवेदनशील विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल आवश्यक रहेको भन्दै पटक–पटक माग गर्दै आएको छ।
तर, प्रधानमन्त्री लगातार अनुपस्थित रहेको भन्दै पार्टीले आपत्ति जनाएको छ।
संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको उपस्थितिका लागि बोलाइएको बैठकमा लगातार अनुपस्थित रहनु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गर्दै प्रधानमन्त्री बिना यस्तो बैठकको अर्थ नै नहुने बताएका छन्।

