मंगलवार, बैशाख २९,२०८३ 12:25:18
Bizshala
  • मंगलवार, बैशाख २९,२०८३ 12:25:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेबोनकै छानबिनमा तानिएका सीताराम थपलिया अब सेबोन अध्यक्ष बन्ने दौडमा

एनआरएन इन्साइडर ट्रेडिङ प्रकरण नसकिँदै नियामक नेतृत्वमा पुग्ने प्रयास, अर्थमन्त्रालयमै उठ्यो नैतिकताको प्रश्न

Bizshala
सेबोनकै छानबिनमा तानिएका सीताराम थपलिया अब सेबोन अध्यक्ष बन्ने दौडमा
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को नयाँ अध्यक्ष चयन प्रक्रियामा आवेदन दिएका व्यक्तिहरूमध्ये एक नामले अहिले पूँजीबजार वृत्तमा विशेष चर्चा पाएको छ । त्यो नाम हो–एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका पूर्व अध्यक्ष सीताराम थपलिया ।

एनआरएन इन्फ्रास्टक्चरमा भएको कथित इन्साइडर ट्रेडिङ, समूहगत चलखेल र सर्वसाधारण लगानीकर्ता फसाइएको प्रकरणमा नाम जोडिएका थपलियाले अहिले त्यही प्रकरणको अनुसन्धान गरिरहेको निकायकै नेतृत्व सम्हाल्न चाहेको विषयले नियामकीय विश्वसनीयता र नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उच्च स्रोतका अनुसार थपलियाले केही साताअघि मात्रै एनआरएन इन्फ्रास्टक्चरसँगको औपचारिक सम्बन्ध अन्त्य गरेका थिए । तर, उनी बाहिरिनुअघि नै सेबोनमा चलिरहेको अनुसन्धान कमजोर बनाइएको, अनुसन्धान अधिकृतमाथि दबाब सिर्जना गरिएको र प्रकरणलाई ‘स्लो डाउन’ गराउने प्रयास सफल भएपछि मात्रै उनले संस्थाबाट दूरी बनाएको दाबी स्रोतको छ ।  

यही पृष्ठभूमिबीच उनले सेबोन अध्यक्ष पदका लागि आवेदन दिएको खुलेपछि अर्थमन्त्रालय र पूँजीबजार वृत्त दुवैतिर चासो बढेको हो । स्रोतकाअनुसार थपलिया ४७ जना आवेदकमध्ये एकका रूपमा प्रक्रियामा सहभागी भए पनि उनको नामलाई लिएर मन्त्रालयभित्रै असहज बहस सुरु भएको छ ।  

केही स्वार्थ समूहले उनलाई “फ्रन्ट क्यान्डिडेट”का रूपमा अघि बढाएको सूचना समेत जिम्मेवार तहसम्म पुगेको स्रोतको दाबी छ ।  

के थियो एनआरएन प्रकरण ?

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य कृत्रिम रूपमा बढाएर सर्वसाधारण लगानीकर्तालाई उच्च मूल्यमा सेयर भिडाइएको र त्यसबाट सीमित समूहले करोडौं कमाएको आरोपमा केही महिनाअघि सेबोनले गम्भीर अनुसन्धान थालेको थियो ।

प्रारम्भिक अनुसन्धानमा कम्पनीका तत्कालीन अध्यक्ष थपलियाले केही लगानीकर्ता समूह, ब्रोकर र बजारसँग सम्बन्धित व्यक्तिहरूसँग मिलेर योजनाबद्ध रूपमा सेयरमूल्य बढाउने खेल खेलेको आशंका गरिएको थियो । अनुसन्धानमा संलग्न अधिकारीहरूले उनी ब्रोकर कम्पनीको ट्रेडिङ रुममै बसेर समूहगत कारोबार समन्वय गर्ने गरेको संकेत दिने अडियो–भिडियो प्रमाण समेत फेला परेको बताएका थिए ।  

त्यतिबेला सेबोन स्रोतले एनआरएनको मूल्य बढाउन कम्पनीभित्रकै संवेदनशील सूचना चुहाइएको, बोनस र हकप्रद घोषणा अघि नै सीमित समूहले सस्तोमा सेयर उठाएको र घोषणा सार्वजनिक हुनुअघि नै सर्वसाधारणलाई उच्च मूल्यमा बिक्री गरिएको निष्कर्षतर्फ अनुसन्धान केन्द्रित भएको जनाएको थियो । त्यसबेला तत्कालीन सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यो प्रकरणलाई चाँडै निश्कर्षमा पुर्याउने र दोषी जोसुकै भए पनि नछाड्ने हुँकार गरेका थिए । तर, बीचमा श्रेष्ठकै सक्रियतामा यो प्रकरण सामसुम भएकोसम्मको आरोप लाग्यो । श्रेष्ठले राजीनामा दिएपछि हाल योलगायतका प्रकरणमा राज्यका अन्य विभिन्न निकायहरुले अनुसन्धान गरिरहेका छन् ।  

विशेष गरी ४० प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रद घोषणा हुनुअघि नै एनआरएनको सेयरमूल्य ९०० रुपैयाँबाट बढेर करिब २४०० रुपैयाँसम्म पुगेको घटनालाई अनुसन्धानकर्ताले “पूर्व योजनाबद्ध खेल” का रूपमा हेरेका थिए ।  

CG Motors
Garima Development Bank
IME remit

‘रेगुलेटर क्याप्चर’को आशंका

पूँजीबजारका जानकारहरू भने यस्तो पृष्ठभूमि भएको व्यक्तिले सेबोन नेतृत्वमा रुचि देखाउनु सामान्य विषय नभएको बताउँछन् । उनीहरूका अनुसार बजारमा विवादित बनेको व्यक्तिले अनुसन्धान गरिरहेको निकायकै नेतृत्व सम्हाल्न खोज्नु “रेगुलेटर क्याप्चर”को संकेत हुनसक्छ ।

एक पूर्व नियामक अधिकारी भन्छन्, “यदि कुनै व्यक्तिमाथि गम्भीर इन्साइडर ट्रेडिङको आरोप छ र अनुसन्धान टुंगिएको छैन भने उसले कम्तीमा नैतिक आधारमा नियामक निकायको नेतृत्व दाबी गर्नु उचित मानिँदैन । यसले पूँजीबजारको विश्वसनीयतामै प्रश्न उठाउँछ ।”

थपलिया: नयाँ प्रतिक्रिया दिएनन्, यस्तो थियो पुरानो दाबी

बिजशालाले थपलियासँग ताजा प्रतिक्रिया लिन खोजेको थियो । हामीले सोधेको प्रश्नको उनले जवाफ दिएनन् । यसअघि भने बिजशालासँगको प्रतिक्रियामा सीताराम थपलियाले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । उनले आफूले कसैलाई एनआरएनको सेयर किन्न नउक्साएको, कम्पनीको वित्तीय अवस्था सार्वजनिक विवरणमै आधारित रहेकाले त्यसबारे जानकारी दिनु स्वाभाविक भएको बताएका थिए ।

उनले ब्रोकर कार्यालयमा जाने गरेको स्वीकारे पनि त्यसलाई गैरकानूनी गतिविधिसँग जोड्नु गलत भएको बताएका थिए ।  

तर, अहिले त्यही विवादित प्रकरणको छायाँ अझै हट्न नपाउँदै उनी सेबोन अध्यक्ष बन्ने दौडमा देखिएपछि बजारमा नयाँ प्रश्न उठेको छः “अनुसन्धानको राडारमा परेको व्यक्ति नियामकको कुर्सीमा पुग्न मिल्छ ?”

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघिका समाचारहरु :

-‘एनआरएनको छानबिन चाँडै टुङ्गिन्छ, दोषी कोही पनि उम्किन पाउँदैन’

-सीताराम थपलियाको खेल: एनआरएनको सूचना आफैं चुहाए, ब्रोकरको ट्रेडिङ रुमलाई बनाएका थिए आफ्नो अखडा

-कमजोर वित्तीय स्वास्थ्य, मूल्यमा उछालः एनआरएनमा 'पम्प एण्ड डम्प' पुष्टि, सेबोन निरीह

 

 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.