काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विश्व बैंक समूहअन्तर्गत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) को संयुक्त आयोजनामा कोशी प्रदेशमा उत्पादन हुने उच्च मूल्य कृषिवालीहरूको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री माननीय विदुर लिडथेपको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री लिडथेपले कोशी प्रदेशमा उत्पादन हुने अलैंची, अदुवा र बेसारजस्ता उच्च मूल्यका कृषिजन्य वस्तुको उत्पादन वृद्धि तथा निर्यात प्रवर्द्धनमा प्रदेश सरकार सकारात्मक रहेको बताए। उनले निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले ठोस कार्ययोजना तयार गरी अघि बढे प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
आईएफसीका सिनियर अपरेशन अफिसर (साउथ एसिया रिजन) विजयशेकरले नेपालमा उत्पादित अलैंची, अदुवा र बेसार हाल मुख्यतः भारततर्फ निर्यात भइरहेको उल्लेख गर्दै अब तेस्रो मुलुकमा निर्यात विस्तार गर्न गुणस्तर सुधार, मापदण्ड तथा बजार पहुँचमा ध्यान दिनुपर्ने बताए। उनले आईएफसी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा उत्पादन वृद्धि र निर्यात विस्तारका कार्यक्रम अघि बढाइने जानकारी दिए।
कार्यक्रममा आईएफसीका कन्सल्टेन्ट राजन शर्माले कोशी प्रदेशमा उत्पादित अलैंची, अदुवा र बेसारको हालसम्मको तथ्यांक प्रस्तुत गर्दै निर्यात वृद्धि गर्न आवश्यक नीतिगत सुधार, उत्पादन व्यवस्थापन तथा बजार विस्तारका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले कोशी प्रदेशबाट चिया, अलैंची, अदुवा, अम्लिसो, छुर्पी, चीज, जडीबुटी तथा ताजा तरकारी भारत लगायत विभिन्न मुलुकमा निर्यात हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा अलैंची, अदुवा र बेसारजस्ता उच्च मूल्य कृषिवालीको उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि आईएफसीसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख पशुपति पोखरेल, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख श्री मनोज यादव तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्री पुष्पलाल राईले कोशी प्रदेशमा गुणस्तर परीक्षणका लागि आधुनिक प्रयोगशालाको अभाव रहेको, सुपर जोनमा उत्पादन बढे पनि पर्याप्त बजार नपाएको तथा बजारीकरणमा निजी क्षेत्रको सक्रिय पहल आवश्यक रहेको धारणा राखे ।
यसैगरी अलैंची व्यवसायी श्री निर्मल भट्टराई, बेसार व्यवसायी राजन आचार्य र केशव घिमिरे लगायतले आधुनिक प्रयोगशाला स्थापना, ड्रायर व्यवस्थापन तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा सरकारको सहयोग आवश्यक रहेको बताए। उनीहरूले हाल भारतमुखी रहेको निर्यातलाई तेस्रो मुलुकसम्म विस्तार गर्न संघीय तथा प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा युवा उद्यमी श्री प्रतिक राउत, युनेश श्रेष्ठ र अविनायक मल्लले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सञ्जाललाई उपयोग गर्दै तालिम, गुणस्तर सुधार तथा उत्पादन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पदाधिकारी, कार्यसमिति सदस्य, कोशी प्रदेश सरकारअन्तर्गत कृषि क्षेत्रका विभिन्न महाशाखाका प्रमुख, अलैंची, अदुवा, बेसार, कफी लगायतका व्यवसायी तथा कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

