शनिबार, श्रावण ९,२०८३ 03:05:35
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 03:05:35
Bizshala
Global IME Bank Limited

कोशी सरकारको महत्वाकांक्षी योजना : कार्यान्वयनमै सबैभन्दा ठूलो चुनौती !

कोशी सरकारको महत्वाकांक्षी योजना : कार्यान्वयनमै सबैभन्दा ठूलो चुनौती !
New Office

काठमाण्डौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत आर्थिक गतिविधि चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने र विकासको गति बढाउने महत्वाकांक्षी योजना अघि सारेको छ ।  

आर्थिक सुस्तता, घट्दो राजस्व र कमजोर पुँजीगत खर्चको दबाबबीच सरकारले कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि र उद्यमशीलतालाई विकासको मुख्य आधार बनाउने रणनीति लिएको हो ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङ मार्फत प्रस्तुत नीति तथा कार्यक्रममा उत्पादनमुखी अर्थतन्त्र निर्माण, युवालाई प्रदेशभित्रै अवसर सिर्जना तथा पूर्वाधार विस्तारलाई मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरिएको छ ।

सरकारले कृषिलाई प्रदेश अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि सार्दै उत्पादन वृद्धि, सिँचाइ विस्तार, यान्त्रीकरण र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको छ ।  

कृषिलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायिक प्रणालीतर्फ लैजाने तथा किसानको आम्दानी बढाउने नीति लिइएको छ ।  

कृषि उपजको बजारीकरण सुधार, भण्डारण र निजी क्षेत्रको लगानी आकर्षित गर्ने योजना पनि समेटिएको छ ।

युवाशक्ति विदेश पलायन भइरहेका बेला सरकारले स्वरोजगार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको छ ।

सीप विकास कार्यक्रम, साना तथा मझौला उद्योग विस्तार र स्थानीय स्रोतमा आधारित उत्पादन प्रणालीमार्फत प्रदेशभित्रै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

ऊर्जा र पूर्वाधारलाई आर्थिक रूपान्तरणको अर्को आधारका रूपमा प्रस्तुत गरिएको छ ।  

सडक, पुल, खानेपानी तथा ऊर्जा आयोजनालाई तीव्रता दिने सरकारको योजना छ ।  

विशेषगरी हरित ऊर्जा, जलविद्युत् तथा नवीकरणीय ऊर्जामा निजी क्षेत्रको लगानी आकर्षित गरेर प्रदेशलाई ऊर्जा उत्पादन केन्द्रका रूपमा विकास गर्ने नीति अघि सारिएको छ ।

पर्यटन क्षेत्रलाई पनि आर्थिक वृद्धि र रोजगारीको सम्भावित इन्जिनका रूपमा व्याख्या गरिएको छ ।  

धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रवर्द्धनमार्फत प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षक गन्तव्य बनाउने रणनीति कार्यक्रममा उल्लेख छ ।

 

त्यस्तै सरकारले डिजिटल प्रणाली विस्तारलाई सुशासनसँग जोडेको छ ।  

सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, छिटो र पारदर्शी बनाउने दाबी गरिएको छ ।  

प्रदेश लोकसेवा आयोगलाई ‘ट्यालेन्ट हब’ का रूपमा विकास गर्ने कार्यक्रम पनि समेटिएको छ ।

शिक्षा क्षेत्रमा प्राविधिक तथा सीपमूलक शिक्षामा जोड दिइने भएको छ भने स्वास्थ्यतर्फ अस्पताल सुदृढीकरण, विशेषज्ञ सेवा विस्तार र दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच बढाउने योजना ल्याइएको छ ।

महिला, दलित, विपन्न तथा पिछडिएका समुदायको सशक्तीकरण, सामाजिक सुरक्षा विस्तार, सहकारी तथा वित्तीय क्षेत्र सुधार र भ्रष्टाचार नियन्त्रणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

‘कोशी जनता आवास कार्यक्रम’लाई निरन्तरता दिँदै विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने योजना पनि समावेश गरिएको छ ।

तर, नीति तथा कार्यक्रमको प्रभावकारितामाथि प्रश्न पनि उठ्न थालेका छन् ।  

चालू आर्थिक वर्षमै कोशी प्रदेश सरकार न्यून पुँजीगत खर्च, कमजोर राजस्व संकलन र सुस्त आयोजना कार्यान्वयनको आलोचनामा परेको थियो ।  

यस्तो अवस्थामा महत्वाकांक्षी कार्यक्रम कार्यान्वयनका लागि वित्तीय स्रोत, प्रशासनिक क्षमता र राजनीतिक इच्छाशक्ति कति प्रभावकारी हुन्छ भन्नेमा अहिले सबैको नजर केन्द्रित भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.