काठमाण्डौ । खिजीदेम्बा गाउँपालिकामा सञ्चालित लिखु–४ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका नाममा गरेको करिब २ करोड ५१ लाख रुपैयाँभन्दा बढी खर्च सार्वजनिक भएपछि त्यसको प्रभावकारिता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।
ग्रिन भेन्चर्स लिमिटेडद्वारा निर्माण गरिएको आयोजनाले गाउँपालिकाको आग्रहपछि २०८३ जेठ ७ गते विस्तृत खर्च विवरणसहितको प्रतिवेदन बुझाएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीधर खनालद्वारा हस्ताक्षरित प्रतिवेदनअनुसार वडा नं. १, २ र ३ मा विभिन्न शीर्षकमा रकम खर्च गरिएको उल्लेख छ।
तर सार्वजनिक गरिएको विवरणपछि स्थानीय समुदायले खर्चको वास्तविकता, कार्यान्वयनको अवस्था र लाभ वितरणबारे प्रश्न उठाउँदै स्वतन्त्र छानबिनको माग गरेका छन्।
प्रतिवेदनमा वडा नं. १ मा ग्रामीण विद्युतीकरण, खेलमैदान, विद्यालय सहयोग तथा एम्बुलेन्स खरिदका लागि रकम खर्च गरिएको उल्लेख छ। तर २०७८ सालमै एम्बुलेन्स खरिदका लागि लिइएको ६ लाख रुपैयाँ हालसम्म प्रयोग नभएको विषयले विवाद चर्किएको छ।
प्रतिवेदनअनुसार वडा नं. ३ मा सबैभन्दा बढी करिब ८६ लाख रुपैयाँ खर्च गरिएको छ भने वडा नं. २ मा करिब ४४ लाख रुपैयाँ खर्च भएको देखिन्छ। विकासका आवश्यकता र जनसंख्याको आधार स्पष्ट नभई गरिएको यस्तो वितरणले प्राथमिकता निर्धारण प्रक्रियामाथि प्रश्न उठाएको छ।
वडा नं. २ मा फेताले–धाप–नास्पु सडक निर्माण र ग्रामीण विद्युतीकरणका नाममा ठूलो रकम खर्च गरिएको देखिए पनि कामको गुणस्तर र दीगोपनबारे स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

