काठमाण्डौ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र दक्षिणी फिलिपिन्सस्थित मिन्दानाओ द्वीपको जनरल सान्टोस सहरबाट करिब १३ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (फिभोल्क्स) ले भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको जनाएको छ। स्थानीय समयअनुसार बिहान ७ः३७ बजे आएको उक्त भूकम्पपछि मिन्दानाओ क्षेत्रका केही तटीय इलाकामा सुनामीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार भूकम्पपछि मिन्दानाओका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। अधिकारीहरूले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित तथा उच्च स्थानतर्फ जान अनुरोध गरेका छन्।
हालसम्म भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन। यद्यपि, मुख्य भूकम्पपछि लगातार परकम्पहरू महसुस भइरहेका छन्।
फिभोल्क्सका अनुसार अहिलेसम्म कम्तीमा १६ वटा परकम्प रेकर्ड गरिएका छन्, जसको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म रहेको छ।
यसैबीच, छिमेकी देश इन्डोनेसियाका केही तटीय क्षेत्रमा साना सुनामीका लहरहरू देखिएको जनाइएको छ। इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी एजेन्सीका अनुसार नर्थ मलुकु प्रान्तका केदी, उलु सियाउ र मेलोङ्गुआने क्षेत्रमा ०.०९ मिटरदेखि ०.१९ मिटर उचाइसम्मका सुनामीका लहरहरू अवलोकन गरिएको छ।
उता, जापानले पनि सुनामीसम्बन्धी चेतावनी जारी गरेको छ। जापानी अधिकारीहरूले स्थानीय समयअनुसार बिहान ११ बजेसम्म दक्षिणी ओकिनावा द्वीपसमूह तथा प्रशान्त महासागर किनाराका केही क्षेत्रमा करिब १ मिटर उचाइसम्मका सुनामीका लहरहरू पुग्न सक्ने चेतावनी दिएका छन्।
अधिकारीहरूले प्रभावित तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सरकारी निर्देशनको पालना गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

