काठमाण्डौ । काठमाण्डौ । मेटा भारतमा आफ्नो पहिलो एआई–इनेबल्ड डेटा सेन्टर बनाउनका लागि रिलायन्स इन्डस्ट्रिजसँग समझदारी गरिरहेको छ । यो सम्झौताका माध्यमबाट गुजरातको जामनगरमा १६८ मेगावाट क्षमताको डेटा सेन्टर निर्माण गरिनेछ । जसलाई दुई वर्षभित्र हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।
यो साझेदारीका माध्यमबाट जामनगरमा डेटा सेन्टरलाई पूर्ण रुपमा विकास गरिनेछ ।
सम्झौताअनुसार रिलायन्सले डाटा सेन्टरको डिजाइन, निर्माण, ऊर्जा व्यवस्थापन, नवीकरणीय ऊर्जा आपूर्ति, नेटवर्क कनेक्टिभिटी तथा व्यवस्थापित सेवासहित सम्पूर्ण पूर्वाधार विकासको जिम्मेवारी लिनेछ। निर्माण सम्पन्न भएपछि मेटाले उक्त केन्द्रको क्षमता भाडामा लिएर आफ्नो एआई तथा डिजिटल सेवा विस्तारमा प्रयोग गर्नेछ।
रिलायन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मार्क जुकरबर्गले यस साझेदारीलाई भारतको डिजिटल पूर्वाधार विकासका लागि ऐतिहासिक कदमको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार जामनगर भविष्यमा हाइपरस्केल एआई कम्प्युटिङको प्रमुख केन्द्रका रूपमा विकसित हुनेछ।
त्यस्तै, मेटाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मुकेश अम्बानीले भारतमा पहिलो एआई सक्षम डाटा सेन्टर स्थापना गर्न रिलायन्ससँग सहकार्य गर्न पाउँदा गर्व लागेको बताएका छन्। उनले यो परियोजनाले मेटाको विश्वव्यापी एआई पूर्वाधार विस्तार गर्न तथा भारतमा दीर्घकालीन लगानीलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने बताए।
मेटाले डाटा सेन्टर सञ्चालनका लागि करिब १ गिगावाट नवीकरणीय ऊर्जा सुनिश्चित गर्न भारतीय ऊर्जा कम्पनीहरू क्लिन म्याक्स र फोर्थ पार्टनर इनर्जीसँग पनि सहकार्यको घोषणा गरेको छ। यसले परियोजनालाई वातावरणमैत्री तथा दिगो बनाउने अपेक्षा गरिएको छ।
एआई सक्षम डाटा सेन्टरहरूमा उच्च क्षमताका ग्राफिक्स प्रोसेसिङ युनिट , उन्नत कूलिङ प्रणाली तथा विशाल कम्प्युटिङ शक्ति प्रयोग गरिन्छ, जसले मेसिन लर्निङ, डीप लर्निङ र जेनेरेटिभ एआई जस्ता जटिल प्रविधिलाई तीव्र गतिमा सञ्चालन गर्न सक्षम बनाउँछ।

