काठमाण्डौ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदूरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।
सोमबार बजेट सार्वजनिक गर्दै मन्त्री लिङ्थेपले प्रदेशको विकास प्राथमिकता, सेवा प्रवाह सुधार तथा आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताए।
सरकारले प्रस्तुत गरेको बजेट संरचनाअनुसार चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
कुल बजेटमा चालू खर्चको हिस्सा ३४.५५ प्रतिशत, पुँजीगत खर्च ५१.३२ प्रतिशत तथा वित्तीय व्यवस्थापन ०।३७ प्रतिशत रहेको छ।
यसले प्रदेश सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै उत्पादनमुखी खर्च बढाउने नीति लिएको देखिन्छ।
यो बजेट चालू आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले वृद्धि भएको हो।
सरकारका अनुसार बढ्दो विकास आवश्यकता र पूर्वाधार विस्तारको मागलाई सम्बोधन गर्न बजेट आकार वृद्धि गरिएको हो।
स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्व, संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान तथा समपूरक अनुदानलाई मुख्य आधार बनाइएको छ।
प्रदेश सरकारले उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्दै बजेट कार्यान्वयनमा परिणाममुखीता ल्याउने लक्ष्य लिएको जनाएको छ।
सरकारका अनुसार आगामी बजेटले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास र सेवा प्रवाह सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

