काठमाण्डौ । बारा यातायात व्यवस्था कार्यालयभित्रै सेवाग्राहीमाथि हातपात भएको देखिने भिडियो सार्वजनिक भएपछि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले घटनाप्रति चासो देखाएको छ।
लाइसेन्ससम्बन्धी कामका लागि कार्यालय पुगेका सेवाग्राही र कर्मचारीबीच विवाद भएपछि कार्यालय प्रमुखसहितका कर्मचारी हातपातमा उत्रिएको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो। भिडियो सार्वजनिक भएसँगै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उठेको छ।
भिडियोमा कार्यालय प्रमुखको कार्यकक्षभित्र एक सेवाग्राहीले कागजात देखाउँदै संवाद गरिरहेको देखिन्छ। सोही क्रममा सेवाग्राहीले मोबाइल निकालेर भिडियो खिच्न खोजेपछि कार्यालय प्रमुख आक्रामक बनेको देखिन्छ। त्यसपछि ढोकामा रहेका एक कर्मचारीले सेवाग्राहीलाई धकेलेको, कार्यालय प्रमुख आफ्नो सिटबाट उठेर सेवाग्राहीमाथि जाइलागेको र अन्य कर्मचारीसमेत घटनामा संलग्न भएको दृश्य भिडियोमा देखिन्छ।
घटनास्थलमै रहेका प्रहरीले भने विवाद मिलाउन खोजेको देखिन्छ। केहीबेरपछि सेवाग्राहीको मोबाइल खोसिएको र उनलाई धम्क्याइएको दृश्य पनि भिडियोमा देखिएको छ।
प्रारम्भिक जानकारीअनुसार उक्त भिडियो २०२६ मार्च १७ अर्थात् गत फागुन तेस्रो साताको भएको बताइएको छ। यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यका अनुसार घटनामा संलग्न सेवाग्राही अरुण कुशवाहा हुन्। आचार्यले कुशवाहाले आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको सवारी चालक अनुमतिपत्रसम्बन्धी कामका लागि कार्यालय आएको बताएका छन्।
उनका अनुसार सेवाग्राहीले कर्मचारीलाई धम्की र गालीगलौज गरेपछि विवाद बढेको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो पूर्ण नभई काटिएको सानो क्लिप मात्र भएको आचार्यको दाबी छ। उनले घटनापछि दुवै पक्ष बसेर मिलापत्र भइसकेको दाबीसमेत गरेका छन्।
तर, कार्यालय प्रमुखकै कार्यकक्षभित्र सेवाग्राहीमाथि हातपात भएको देखिने भिडियोले सार्वजनिक सेवा प्रवाह, कर्मचारीको आचरण र सेवाग्राहीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले पनि घटनाबारे चासो देखाएको छ। मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले भिडियो सामाजिक सञ्जालमा देखिएको र यस विषयमा मन्त्रालयमा छलफल हुने बताएका छन्।
“मैले पनि सामाजिक सञ्जालमै यो भिडियो हेरेँ। आज मन्त्रालयमा यस घटनाबारे छलफल हुन्छ,” यादवले भने।
निमित्त कार्यालय प्रमुख आचार्य अधिकृत छैटौँ तहका कर्मचारी हुन्। तत्कालीन श्रम तथा यातायात मन्त्री मनिष सुमनको पालामा गत पुसमा उनलाई यातायात व्यवस्था कार्यालय जनकपुरबाट बारा कार्यालयमा निमित्त प्रमुखको जिम्मेवारी दिएर पठाइएको थियो। त्यसअघि उनी झण्डै पाँच वर्ष जनकपुर यातायात कार्यालयमा कार्यरत थिए।
घटनापछि बारा यातायात कार्यालयभित्र सेवाग्राहीको सुरक्षा, कर्मचारीको व्यवहार र सार्वजनिक कार्यालयमा जवाफदेहिताबारे बहस चुलिएको छ। मन्त्रालयको छलफल र थप अनुसन्धानपछि मात्र घटनाबारे औपचारिक निर्णय आउने अपेक्षा गरिएको छ।

