काठमाण्डौ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि राजनीतिक तटस्थताको नियम उल्लंघन गरेको आरोप लगाउँदै मानव अधिकार समूह फेयरस्क्वायरले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मा औपचारिक उजुरी दर्ता गर्ने तयारी गरेको छ। इन्फान्टिनो सन् २०२० देखि आईओसीका सदस्यसमेत रहेका छन्।
फेयरस्क्वायरले इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सार्वजनिक समर्थन जनाउँदै पटक–पटक खेलकुद संस्थाको राजनीतिक तटस्थताको सिद्धान्त उल्लंघन गरेको दाबी गरेको छ। यसअघि समूहले डिसेम्बर २०२५ मा फिफाको नैतिकता समितिमा पनि उजुरी दिएको थियो।
उजुरीमा फिफा आचारसंहिताको धारा १५ (राजनीतिक तटस्थताको दायित्व) उल्लंघन भएको आरोप लगाइएको छ। उक्त नियम उल्लंघन प्रमाणित भएमा जरिवाना तथा फुटबलसम्बन्धी गतिविधिबाट प्रतिबन्धजस्ता कारबाही हुन सक्ने व्यवस्था छ।
फेयरस्क्वायरले इन्फान्टिनोको भूमिकामाथि थप छानबिन गर्न माग गर्दै फिफाले स्थापना गरेको ‘पीस प्राइज’ ट्रम्पलाई प्रदान गर्ने निर्णय प्रक्रिया पनि अनुसन्धान गर्नुपर्ने बताएको छ। संस्थाले उक्त निर्णय फिफा परिषद्को प्रक्रियाबाट भएको हो वा इन्फान्टिनोले व्यक्तिगत रूपमा निर्णय गरेका हुन् भन्ने विषय स्पष्ट हुनुपर्ने जनाएको छ।
आईओसी अध्यक्ष किर्स्टी कोभेन्ट्रीले हालसम्म उजुरी प्राप्त नभएको बताउँदै उजुरी आएमा त्यसलाई विचार गरिने प्रतिक्रिया दिएकी छन्।
यसैबीच, फिफाको नैतिकता प्रक्रियामा पनि अहिलेसम्म औपचारिक अनुसन्धान सुरु भएको स्पष्ट जानकारी सार्वजनिक नभएको फेयरस्क्वायरले जनाएको छ। युरोपेली संसदका करिब ५० सदस्य र नर्वेजियन फुटबल संघले समेत इन्फान्टिनोविरुद्धको उजुरीलाई समर्थन गरेका छन्।
इन्फान्टिनोमाथि पछिल्लो विवाद अमेरिकी खेलाडी फोलारिन बालोगुनको रातो कार्ड प्रतिबन्ध फुकुवा प्रकरणपछि थप चर्किएको हो। ट्रम्पको आग्रहपछि फिफाले प्रतिबन्ध पुनरावलोकन गरेको आरोप लागे पनि इन्फान्टिनोले अन्तिम निर्णयमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको बताएका छन्।

