काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको आचरण, व्यवहार र कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ। मन्त्रालयले कर्मचारीको सेवा प्रवाहलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाउने उद्देश्यले आचारसंहिता कार्यान्वयनमा ल्याएको जनाएको छ।
मन्त्रीस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भएको उक्त आचारसंहिता असार २२ गतेदेखि लागू गर्न मन्त्रालयअन्तर्गतका सबै महाशाखा तथा निकायहरूमा पठाइएको छ।
आचारसंहिताले कर्मचारीको सामाजिक सञ्जाल प्रयोगलाई विशेष रूपमा नियमन गरेको छ। कार्यालय समयमा वा फिल्डमा खटिएको अवस्थामा कार्यालय पोसाकमा खिचिएका फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा प्रकाशन गर्न कर्मचारीलाई रोक लगाइएको छ। यद्यपि, शिक्षामूलक तथा सूचनामूलक सामग्रीको हकमा भने यो व्यवस्था लागू नहुने उल्लेख छ।
फेसबुक, ट्वीटर, ह्वाट्सएप, टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको मर्यादा र संस्थागत प्रतिष्ठामा असर नपर्ने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, सरकारका नीति तथा कार्यक्रमको प्रतिकूल हुने गरी लेख, रचना वा टिप्पणी प्रकाशन गर्न समेत निषेध गरिएको छ।
आचारसंहिताले सेवाग्राहीसँग कर्मचारीको व्यवहारलाई पनि प्राथमिकतामा राखेको छ। कर्मचारीले सेवाग्राहीसँग शिष्ट, मर्यादित र समान व्यवहार गर्नुपर्ने तथा कुनै पनि प्रकारको मोहलाहिजा, पक्षपात वा पूर्वाग्रहबिना जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यवस्था गरिएको छ। धर्म, वर्ण, लिङ्ग वा जातका आधारमा सेवाग्राहीमाथि भेदभाव गर्न नपाइने उल्लेख छ।
त्यस्तै, कार्यालयबाहिर सेवाग्राहीसँग अनावश्यक भेटघाट गर्न रोक लगाइएको छ। कर्मचारीले कुनै सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न नपाउने र आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन नपाउने व्यवस्था गरिएको छ।
आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने, तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। कार्यालय परिसर वा सार्वजनिक स्थलमा मदिरा सेवन, जुवातास खेल्ने, धूम्रपान गर्ने लगायतका अमर्यादित गतिविधि गर्न निषेध गरिएको छ।
सरकारी प्रतीक चिन्ह, छाप, इमेल, पासवर्ड तथा आधिकारिक कागजातको सुरक्षा गर्ने जिम्मेवारी पनि कर्मचारीलाई तोकिएको छ। सरकारी सम्पत्ति, सूचना प्रणाली तथा उपकरणको दुरुपयोग गर्न नपाइने र व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न नहुने व्यवस्था आचारसंहितामा गरिएको छ।
आचारसंहिता पालना भएरनभएको विषयमा मन्त्रालयका सचिव वा सचिवले तोकेको अधिकृतले नियमित अनुगमन गर्ने व्यवस्था गरिएको छ। आचारसंहिता उल्लंघन गर्ने कर्मचारीमाथि प्रचलित कानूनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

