आईतवार, असार २८,२०८३ 05:11:32
Bizshala
  • आईतवार, असार २८,२०८३ 05:11:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाम ‘ब्लु बस’, रङ भने हरियै रहने; साउन १ मै सेवा सुरु हुने सम्भावना न्यून

सरकार र साझा यातायातबीच सम्झौता नै भएको छैन, बजेट र कार्यविधिबिना निःशुल्क सेवा सञ्चालन नगर्ने साझाको अडान

Laxmi Sunrise Bank Limited
नाम ‘ब्लु बस’, रङ भने हरियै रहने; साउन १ मै सेवा सुरु हुने सम्भावना न्यून

 

काठमाण्डौ । महिलाको सुरक्षित र निःशुल्क यात्राका लागि सरकारले घोषणा गरेको ‘ब्लु बस’ सेवा नाममा निलो भए पनि बसको रङ भने हरियो नै रहने भएको छ। साझा यातायातका बसलाई निलो रङमा परिवर्तन गर्ने चर्चाको आलोचना भएपछि बसको मौलिक रङ यथावत् राखेर स्टिकर वा अन्य दृश्यात्मक सङ्केतमार्फत ‘ब्लु बस’को पहिचान दिने तयारी गरिएको हो।

तर सरकारले आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन अर्थात् साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक तयारी पूरा नभएकाले तोकिएकै मितिमा बस चल्ने सम्भावना न्यून देखिएको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले सरकारले अहिलेसम्म बजेट सुनिश्चित नगरेको, कार्यविधि नबनाएको र साझा यातायातसँग औपचारिक सम्झौतासमेत नगरेको बताए। यी प्रक्रिया पूरा नभएसम्म महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्न नसकिने उनको भनाइ छ।

New Office
CG Motors
Garima Development Bank

हरियो बसलाई निलो नबनाइने

साझा यातायातका हरिया बसलाई निलो रङले पोतेर ‘ब्लु बस’ बनाइने चर्चा चलेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। तर साझा यातायातले सार्वजनिक भएका निलो रङका बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता प्रयोग गरी बनाइएका र आधिकारिक नभएको स्पष्ट पारेको छ।

अर्यालका अनुसार ६४ वर्ष लामो इतिहास बोकेको साझा यातायातको हरियो रङ आफैँमा स्थापित ब्रान्ड हो। महिलामैत्री सेवाको छुट्टै पहिचानका लागि बसमा ‘ब्लु बस’ लेखिएको स्टिकर, ब्यानर वा सीमित निलो रङको सङ्केत प्रयोग गर्न सकिने भए पनि बसको मूल रङ परिवर्तन गरिने छैन।

“साझाको आफ्नै मौलिक ब्रान्ड र पहिचान छ। त्यसलाई परिवर्तन गरेर बसको रङ फेर्ने योजना छैन,” अर्यालले भने, “महिलाका लागि सञ्चालन हुने सेवालाई चिनाउन स्टिकर वा अन्य दृश्यात्मक चिह्न प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ।”

उनका अनुसार ‘ब्लु बस’ बसको वास्तविक रङभन्दा पनि महिलाका लागि सुरक्षित, निगरानीयुक्त र विशेष सेवाको अवधारणात्मक नाम हो।

साउन १ मै चल्ने सम्भावना छैन

सरकारले साउन १ गतेदेखि काठमाडौँ उपत्यकामा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने घोषणा गरे पनि साझा यातायातले तोकिएकै मितिमा सेवा सुरु हुने अवस्था नरहेको जनाएको छ।

“अहिलेसम्म सरकारसँग आधिकारिक सम्झौता भएको छैन। बजेटको सुनिश्चितता र कार्यविधिसमेत बन्न बाँकी छ,” अर्यालले भने, “सञ्चालन खर्च उपलब्ध गराउने स्पष्ट व्यवस्था र आधिकारिक पत्र नआएसम्म सेवा सञ्चालन हुँदैन।”

केही महिना सेवा सञ्चालन गरेर बजेट अभावका कारण बन्द गर्नुपर्ने अवस्था आए त्यसले साझा यातायातको साखमा गम्भीर असर पार्ने उनको भनाइ छ। त्यसैले सेवाको निरन्तरता सुनिश्चित हुने गरी सरकारसँग सम्झौता भएपछि मात्रै बस सञ्चालन गरिने साझाले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठ बस सञ्चालन गर्ने प्रारम्भिक योजना

सरकारले प्रारम्भिक चरणमा साझा यातायातका २६ सिट क्षमताका आठ वटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालन गर्ने योजना अघि सारेको थियो। तर तयारी पूरा नभएकाले बसको अन्तिम सङ्ख्या र सेवा सुरु हुने मिति अझै निश्चित भएको छैन।

प्रारम्भिक योजनाअनुसार बुढानीलकण्ठ–लगनखेल–गोदावरी रुटमा दुई वटा र नागढुंगा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गर्ने तयारी छ।

त्यस्तै, चक्रपथमा चार वटा बस चलाउने प्रस्ताव छ। तीमध्ये दुई वटा बस कोटेश्वर–गौशाला–कलङ्की रुटमा र बाँकी दुई वटा कोटेश्वर–सातदोबाटो–कलङ्की रुटमा सञ्चालन गर्ने योजना बनाइएको छ।

निःशुल्क सेवा चलाउन दैनिक लाखौँ खर्च

निःशुल्क बस सेवा सञ्चालन गर्न आवश्यक सम्पूर्ण सञ्चालन खर्च सरकारले उपलब्ध गराउनुपर्ने साझा यातायातको माग छ।

साझाको प्रारम्भिक अनुमानअनुसार एउटा विद्युतीय बस सञ्चालन गर्दा दैनिक १० हजारदेखि १२ हजार रुपैयाँसम्म खर्च लाग्छ। डिजेल बसको हकमा दैनिक १५ हजारदेखि १६ हजार रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ।

आठ वटा विद्युतीय बस सञ्चालन गर्दा मात्रै दैनिक करिब ८० हजारदेखि ९६ हजार रुपैयाँसम्म खर्च हुन सक्छ। यसमा चालक तथा सहचालकको पारिश्रमिक, मर्मत, व्यवस्थापन, चार्जिङ र अन्य प्रशासनिक खर्च थपिन सक्नेछन्।

सरकारले २०८२ चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा ‘ब्लु बस’ सेवा समावेश गरेको थियो। उक्त कार्यसूचीमा पहिलो एक सय दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले सीसी क्यामेरासहित महिलाका लागि सुरक्षित र निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। तर घोषणा कार्यान्वयनका लागि आवश्यक बजेट, कार्यविधि र संस्थागत सम्झौता नहुँदा सेवा कहिलेदेखि सुरु हुन्छ भन्ने अझै अनिश्चित बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.