काठमाण्डौ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ।
रास्वपाले स्वतन्त्र प्रेस, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी दृढतापूर्वक उभिँदै आएको जनाएको छ। कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र लोकतन्त्रको चौथो अंगलाई संकुचित बनाउने प्रयास स्वीकार्य नहुने पार्टीले स्पष्ट पारेको छ।
विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारितालाई लोकतन्त्रको ‘प्राणवायु’का रूपमा उल्लेख गर्दै प्रेस क्षेत्रलाई त्रसित पार्ने उद्देश्यले गरिने सबै प्रकारका गतिविधिको भर्त्सना गरिएको छ।
रास्वपाले घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्यमा आधारित छानबिन गर्न सरकारसँग माग गरेको छ। सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायलाई आग्रह गरिएको छ। पार्टीले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै सञ्चारकर्मीको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

