मंगलवार, असार ३०,२०८३ 07:31:50
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 07:31:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टाइम फर्माको कटअफ मूल्यमा ‘आफ्नै लगानी सञ्जाल’को खेल ?

५१० रुपैयाँमा ८० हजार कित्ताको बोली हाल्ने आईक्यापिटलको टाइमसँग अप्रत्यक्ष सम्बन्ध, नेप्से कामु प्रमुखको प्रतिक्रिया झन् शंकास्पद

Laxmi Sunrise Bank Limited
टाइम फर्माको कटअफ मूल्यमा ‘आफ्नै लगानी सञ्जाल’को खेल ?

काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको प्रतिकित्ता ५०० रुपैयाँ कटअफ मूल्य निर्धारण प्रक्रियामा गम्भीर स्वार्थको द्वन्द्व देखिएको छ।

बिजशालालाई प्राप्त बोलकबोलसम्बन्धी तालिकाअनुसार टाइम फर्मास्युटिकल्ससँग अप्रत्यक्ष आर्थिक तथा व्यवस्थापकीय सम्बन्ध रहेको आईक्यापिटल प्रालिले प्रतिकित्ता ५१० रुपैयाँका दरले ८० हजार कित्ता सेयर माग गर्दै बोलपत्र पेस गरेको देखिएको हो।

टाइम फर्मास्युटिकल्सको कटअफ मूल्य ५०० रुपैयाँ कायम भएको छ। यही मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई प्रतिकित्ता ४५० रुपैयाँमा आईपीओ बिक्री गर्ने तयारी छ।

तर कम्पनीका विद्यमान लगानीकर्तासँग स्वामित्व र व्यवस्थापनको सम्बन्ध भएको संस्थाले नै कटअफ मूल्यभन्दा माथि ठूलो परिमाणमा बोलपत्र दिएको तथ्य बाहिरिएपछि मूल्य निर्धारण प्रक्रिया स्वतन्त्र, निष्पक्ष र स्वार्थरहित थियो कि थिएन भन्ने प्रश्न उठेको छ।

New Office
CG Motors
Garima Development Bank

आईक्यापिटलदेखि टाइम फर्मासम्म यस्तो छ सम्बन्ध

उपलब्ध विवरणअनुसार आईक्यापिटल प्रालिले अल्फा क्यापिटल लिमिटेडको करिब ६.५ प्रतिशत सेयर स्वामित्व राखेको छ।

आईक्यापिटलका संस्थापक तथा अध्यक्ष-प्रबन्ध निर्देशक अजयकुमार श्रेष्ठ अल्फा क्यापिटलका प्रबन्ध निर्देशकसमेत हुन्। श्रेष्ठको व्यक्तिगत रूपमा पनि अल्फा क्यापिटलमा करिब ११.५ प्रतिशत स्वामित्व रहेको देखिन्छ।

अल्फा क्यापिटलले टाइम फर्मास्युटिकल्सको करिब १५ प्रतिशत सेयर स्वामित्व राखेको आईक्रा नेपालको फेब्रुअरी २०२६ को रेटिङ प्रतिवेदनमा उल्लेख छ। अल्फा क्यापिटलले टाइम फर्मास्युटिकल्सलाई आफ्नो लगानी पोर्टफोलियोमा रहेको ‘इन्भेस्टी कम्पनी’का रूपमा समेत उल्लेख गर्दै आएको छ।

५०० रुपैयाँ वा सोभन्दा बढी बोली लगाएका योग्य संस्थागत लगानीकर्ताहरुको विवरण, जसमा आई क्यापिटल पनि संलग्न देखिन्छ । 

यसरी हेर्दा स्वामित्वको शृंखला यस्तो देखिन्छः

आईक्यापिटल → अल्फा क्यापिटल → टाइम फर्मास्युटिकल्स

सामान्य ‘लुक–थ्रु’ गणनाअनुसार आईक्यापिटलको टाइम फर्मास्युटिकल्समा करिब ०.९८ प्रतिशत अप्रत्यक्ष आर्थिक एक्सपोजर देखिन्छ। यद्यपि यसलाई आईक्यापिटलले टाइम फर्मास्युटिकल्सको ०.९८ प्रतिशत सेयर प्रत्यक्ष रूपमा स्वामित्व लिएको अर्थमा बुझ्न मिल्दैन।

तर स्वामित्वको अप्रत्यक्ष सम्बन्धसँगै अजयकुमार श्रेष्ठमार्फत आईक्यापिटल र अल्फा क्यापिटलबीच साझा व्यवस्थापन सम्बन्धसमेत रहेको छ।

यही सम्बन्ध भएको आईक्यापिटलले टाइम फर्मास्युटिकल्सको सेयरका लागि प्रतिकित्ता ५१० रुपैयाँमा ८० हजार कित्ताको बोलपत्र दिएको देखिएपछि स्वार्थको द्वन्द्वको प्रश्न सामान्य आशंकाभन्दा माथि पुगेको छ।

५१० रुपैयाँको बोलीले ५०० रुपैयाँ कटअफमा कस्तो प्रभाव पार्‍यो ?

बिजशालालाई प्राप्त तालिकामा आईक्यापिटलले ५१० रुपैयाँका दरले ८० हजार कित्ताको माग गरेको देखिन्छ।

त्यसैगरी विभिन्न आठ संस्थाले ५०० रुपैयाँ वा सोभन्दा माथिको मूल्यमा कुल ४ लाख ६० हजार कित्ताका लागि बोलपत्र दिएको विवरण तालिकामा देखिएको छ। टाइम फर्मास्युटिकल्सले योग्य संस्थागत लगानीकर्ताका लागि ४ लाख ३४ हजार ६०० कित्ता सेयर छुट्याएको छ।

यसबाट प्रतिकित्ता ५०० रुपैयाँ वा सोभन्दा माथि परेको बोलपत्रकै आधारमा कटअफ मूल्य ५०० रुपैयाँ कायम भएको प्रारम्भिक संकेत मिल्छ।

यदि ५१० रुपैयाँमा परेको आईक्यापिटलको ८० हजार कित्ताको बोलपत्र हटाइने हो भने कटअफ मूल्य, बोलपत्रको माग र उपलब्ध कित्ताबीचको समीकरण कस्तो बन्थ्यो भन्ने तथ्य नियामकले सार्वजनिक गर्नुपर्ने देखिन्छ।

यही प्रश्नले आईक्यापिटलको बोलपत्र केवल एउटा सामान्य संस्थागत लगानी निर्णय थियो कि कटअफ मूल्य ५०० रुपैयाँसम्म पुर्‍याउन प्रभावकारी भूमिका खेल्ने बोलपत्र थियो भन्ने विषयलाई निर्णायक बनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मूल्य खोजियो कि विद्यमान लगानीको मूल्य बढाइयो ?

बुक बिल्डिङ विधिको मूल उद्देश्य कम्पनीको वित्तीय अवस्था, भविष्यको सम्भावना, उद्योगगत जोखिम र मूल्यांकनका आधारमा निष्पक्ष बजार मूल्य खोज्नु हो।

योग्य संस्थागत लगानीकर्ताले कम्पनीसँग कुनै स्वार्थ नराखी स्वतन्त्र मूल्यांकनका आधारमा बोलपत्र पेस गर्नुपर्ने हुन्छ।

तर टाइम फर्मास्युटिकल्सको विद्यमान सेयरधनी अल्फा क्यापिटलसँग स्वामित्व र व्यवस्थापन दुवै तहमा जोडिएको आईक्यापिटलले नै उच्च मूल्यमा बोलपत्र दिएको अवस्थामा प्रश्न उठ्छ-यो बोलपत्र स्वतन्त्र मूल्यांकनका आधारमा दिइएको थियो कि आफ्नै लगानी सञ्जालभित्र रहेको कम्पनीको सेयर मूल्य बढाउने उद्देश्यले ?

कटअफ मूल्य जति माथि पुग्छ, सर्वसाधारणले तिर्नुपर्ने आईपीओ मूल्य उति नै बढ्छ। त्यससँगै सस्तो मूल्यमा सेयर लिएका पुराना तथा प्रिआईपीओ लगानीकर्ताको कागजी सम्पत्ति पनि सोही अनुपातमा उकासिन्छ।

यस अवस्थामा उच्च मूल्यबाट फाइदा विद्यमान लगानीकर्तालाई हुने तर त्यसको जोखिम सर्वसाधारणमाथि सर्ने सम्भावना रहन्छ।

स्वार्थको सम्बन्ध बोलपत्रअघि खुलाइएको थियो ?

आईक्यापिटलले बोलपत्र दिनुअघि टाइम फर्मास्युटिकल्स, अल्फा क्यापिटल र आफूसँग रहेको आर्थिक तथा व्यवस्थापकीय सम्बन्ध खुलाएको थियो कि थिएन भन्ने विषय स्पष्ट भएको छैन।

त्यसैगरी आईक्यापिटलको लगानी समितिले ५१० रुपैयाँ मूल्य कसरी उचित ठहर्‍यायो, त्यसका लागि कस्तो मूल्यांकन प्रतिवेदन तयार गरियो र सम्भावित स्वार्थ भएका पदाधिकारी निर्णय प्रक्रियामा सहभागी भए कि भएनन् भन्ने विवरण पनि सार्वजनिक छैन।

आईक्यापिटलको बोलपत्र स्वीकार गर्ने क्रममा कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ, नेप्से वा अन्य सम्बन्धित निकायले सम्भावित स्वार्थको द्वन्द्व परीक्षण गरे कि गरेनन् भन्ने प्रश्नसमेत उठेको छ।

स्वामित्व सम्बन्ध भएको संस्था बोलकबोलमा सहभागी हुन पाउँछ कि पाउँदैन भन्ने कानुनी परीक्षणसँगै उसले दिएको बोलपत्रले कटअफ मूल्यमा निर्णायक असर पारेको छ कि छैन भन्ने तथ्य नियामकले छुट्टै परीक्षण गर्नुपर्ने देखिन्छ।

नेप्से कामु प्रमुखको विरोधाभासी प्रतिक्रिया

यस विषयमा बिजशालाले नेपाल स्टक एक्सचेञ्जका कामु प्रमुख लिलाधर सुवेदीसँग प्रतिक्रिया माग्दा उनले आफूलाई घटनाबारे जानकारी नभएको बताए।

सुवेदीले भने, “के रहेछ, न्यूज लिंक पाऊँ न। मलाई अहिलेसम्म यो विषय नै थाहा थिएन।”

तर मंगलबार बिहान नेप्सेकै एक कर्मचारीले बिजशालासँग कुरा गर्दै टाइम फर्मास्युटिकल्सको कटअफ मूल्य निर्धारणमा उठेको प्रश्नबारे सुवेदीलाई जानकारी गराइसकिएको र त्यसपछिको जिम्मेवारीसमेत उनकै रहेको बताएका थिए।

नेप्सेका कर्मचारीले जानकारी गराइसकेको दाबी गर्नु र कामु प्रमुख सुवेदीले आफूलाई विषय नै थाहा नभएको प्रतिक्रिया दिनु एकअर्कासँग मेल खाँदैन।

यो विरोधाभासले नेप्सेभित्र सूचना प्रवाह कमजोर रहेको हो, जिम्मेवार अधिकारीले विषयलाई गम्भीरतापूर्वक नलिएका हुन् वा जानकारी भएर पनि अनभिज्ञता प्रकट गरिएको हो भन्ने थप प्रश्न जन्माएको छ।

बुक बिल्डिङजस्तो संवेदनशील प्रक्रियामा बजार सञ्चालक संस्थाका प्रमुखले कटअफ मूल्यको निष्पक्षतामाथि उठेको प्रश्नबारे अनभिज्ञता जनाउनु आफैँमा गम्भीर विषय हो।

६०० रुपैयाँ आधार मूल्य भनियो, ५०० रुपैयाँ कसरी कटअफ बन्यो ?

टाइम फर्मास्युटिकल्सको रोड शोसम्बन्धी सार्वजनिक विवरणमा विभिन्न मूल्यांकन विधिबाट कम्पनीको प्रतिसेयर औसत मूल्य ६६६.७८ रुपैयाँ निकालिएको र योग्य संस्थागत लगानीकर्ताका लागि ६०० रुपैयाँ आधार मूल्य प्रस्ताव गरिएको उल्लेख थियो।

तर बोलकबोलपछि प्रतिकित्ता ५०० रुपैयाँ कटअफ मूल्य कायम भएको विवरण सार्वजनिक भएको छ।

यदि कम्पनीले प्रस्ताव गरेको आधिकारिक आधार मूल्य ६०० रुपैयाँ थियो भने त्यसभन्दा कम ५०० रुपैयाँमा कटअफ कसरी कायम भयो भन्ने विषय अझै स्पष्ट छैन।

आधार मूल्य पछि संशोधन गरिएको थियो, रोड शोमा सार्वजनिक गरिएको विवरण फरक थियो वा बोलकबोल सीमा निर्धारणमा अर्को व्यवस्था लागू गरिएको थियो-सम्बन्धित निकायले आधिकारिक रूपमा खुलाउनुपर्ने देखिन्छ।

वित्तीय सूचकको तुलनामा कति महँगो छ मूल्य ?

आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म टाइम फर्मास्युटिकल्सको प्रतिसेयर नेटवर्थ १६७.५१ रुपैयाँ र प्रतिसेयर आम्दानी १०.२३ रुपैयाँ रहेको सार्वजनिक विवरण छ।

यस आधारमा ५०० रुपैयाँको कटअफ मूल्य कम्पनीको नेटवर्थको करिब २.९८ गुणा हुन्छ। मूल्य–आम्दानी अनुपात अर्थात् पीई रेसियो करिब ४८.९ गुणा पर्छ।

सर्वसाधारणका लागि प्रस्तावित ४५० रुपैयाँको मूल्यसमेत नेटवर्थको करिब २.६९ गुणा र प्रतिसेयर आम्दानीको करिब ४४ गुणा हो।

कम्पनीको भविष्यको वृद्धि, उत्पादन विस्तार, उद्योगको सम्भावना र भावी नाफाका आधारमा उच्च मूल्य उचित हुन सक्छ। तर यस्तो मूल्य निर्धारण गर्ने संस्थाको कम्पनीसँग आर्थिक सम्बन्ध देखिएको अवस्थामा मूल्यांकनको आधार अझ पारदर्शी र विश्वसनीय हुनुपर्छ।

सर्वसाधारणमाथि कम्तीमा २२ हजार ५०० रुपैयाँको दायित्व

टाइम फर्मास्युटिकल्सले कुल १० लाख ८६ हजार ५०० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ।

त्यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि र ६ लाख ५१ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

सर्वसाधारणले प्रतिकित्ता ४५० रुपैयाँमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने भए एक आवेदकले कम्तीमा २२ हजार ५०० रुपैयाँ जुटाउनुपर्ने हुन्छ।

सर्वसाधारणका लागि छुट्याइएको सम्पूर्ण सेयर ४५० रुपैयाँमा बिक्री हुँदा कम्पनीले करिब २९ करोड ३३ लाख रुपैयाँ उठाउनेछ।

त्यसैले कटअफ मूल्यको प्रत्येक रुपैयाँले कम्पनीले उठाउने रकम र सर्वसाधारणले वहन गर्ने जोखिममा प्रत्यक्ष प्रभाव पार्छ।

धितोपत्र बोर्डले तत्काल के जाँच्नुपर्छ ?

नेपाल धितोपत्र बोर्डले सर्वसाधारणका लागि आईपीओ निष्कासन अनुमति दिनुअघि आईक्यापिटलको बोलपत्रसहित सम्पूर्ण प्रक्रियाको पुनःपरीक्षण गर्नुपर्ने देखिन्छ।

विशेषतः निम्न प्रश्नको स्पष्ट जवाफ आवश्यक छः

-आईक्यापिटलले प्रतिकित्ता ५१० रुपैयाँमा ८० हजार कित्ताको बोलपत्र दिएको आधिकारिक विवरण सही हो कि होइन ?

-आईक्यापिटल, अल्फा क्यापिटल र टाइम फर्मास्युटिकल्सबीचको सम्बन्ध बोलपत्रअघि खुलाइएको थियो कि थिएन ?

-आईक्यापिटलको बोलपत्र स्वीकार गर्दा सम्भावित स्वार्थको द्वन्द्व परीक्षण गरिएको थियो कि थिएन ?

-५१० रुपैयाँ मूल्य निर्धारण गर्न आईक्यापिटलले तयार गरेको मूल्यांकन प्रतिवेदनमा के आधार प्रयोग गरिएको थियो ?

-आईक्यापिटलको बोलपत्र हटाउँदा कटअफ मूल्य ५०० रुपैयाँ नै कायम हुन्थ्यो कि हुँदैनथ्यो ?

-४४ योग्य संस्थागत लगानीकर्तामध्ये अरू कति संस्था टाइम फर्मास्युटिकल्सका विद्यमान लगानीकर्ता वा तिनीसँग सम्बन्धित समूहसँग जोडिएका छन् ?

-समान लाभग्राही वा समान व्यवस्थापनसँग सम्बन्धित संस्थाले आपसी समन्वयमा बोलपत्र दिएका थिए कि थिएनन् ?

-नेप्सेका जिम्मेवार अधिकारीलाई विषयको जानकारी कहिले गराइएको थियो र त्यसपछि के कारबाही भयो ?

सर्वसाधारणलाई बेच्नुअघि प्रक्रिया सफा हुनुपर्छ

टाइम फर्मास्युटिकल्स लामो समयदेखि सञ्चालनमा रहेको औषधि उत्पादक कम्पनी हो। कम्पनी नाफामा हुनु, उत्पादन विस्तारको सम्भावना राख्नु वा भविष्यमा राम्रो प्रदर्शन गर्न सक्नु सकारात्मक पक्ष हुन्।

तर कम्पनी राम्रो हुनु र त्यसको आईपीओ मूल्य निष्पक्ष प्रक्रियाबाट निर्धारण हुनु दुई फरक विषय हुन्।

बुक बिल्डिङमा सर्वसाधारणले मूल्य तय गर्दैनन्। सीमित योग्य संस्थागत लगानीकर्ताले उनीहरूका तर्फबाट मूल्य खोज्छन्। त्यसैले मूल्य खोज्ने संस्थाकै कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष आर्थिक स्वार्थ रहेको अवस्थामा सम्पूर्ण प्रक्रियाको विश्वसनीयता प्रभावित हुन्छ।

आईक्यापिटलको ५१० रुपैयाँमा ८० हजार कित्ताको बोलपत्रले टाइम फर्मास्युटिकल्सको ५०० रुपैयाँ कटअफ मूल्यमा कस्तो प्रभाव पार्‍यो भन्ने तथ्य नखुलेसम्म सर्वसाधारणलाई प्रतिकित्ता ४५० रुपैयाँमा सेयर बिक्री गर्न अनुमति दिनु उचित देखिँदैन।

धितोपत्र बोर्डले बोलपत्रदाताको वास्तविक लाभग्राही स्वामित्व, व्यवस्थापकीय सम्बन्ध, मूल्यांकन प्रतिवेदन र कटअफ गणनाको पूर्ण विवरण सार्वजनिक गरेपछि मात्रै आईपीओ प्रक्रिया अगाडि बढाउनुपर्छ।

नत्र बुक बिल्डिङ कम्पनीको वास्तविक मूल्य खोज्ने विधि नभई पुराना लगानीकर्ताले आफ्नो लगानीको मूल्य बढाएर सर्वसाधारणमाथि महँगो सेयर सार्ने माध्यम बन्ने जोखिम रहन्छ।

यसअघि प्रकाशित सम्बन्धित समाचारः

टाइम फर्माको ५०० रुपैयाँ ‘कटअफ’मा चलखेलको आशंका, प्रिआईपीओ लगानीकर्ता जोडिएका फण्डले नै महँगो बोली लगाए !

 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.