काठमाण्डौ । लियोनेल मेसीको अर्जेन्टिना र युवा स्टार लामिन यामलको स्पेनबीच आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल अमेरिकाको इतिहासकै सबैभन्दा महँगो खेलकुद प्रतियोगितामध्ये एक बन्ने भएको छ।
न्युजर्सीको न्युयोर्क–न्युजर्सी स्टेडियममा हुने बहुप्रतीक्षित फाइनलका लागि अन्तिम समयमा टिकट खोज्ने समर्थकले एउटा टिकटमै लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ।
फिफाको आधिकारिक पुनर्बिक्री प्लेटफर्ममा शनिबार बिहान गोलपोस्टपछाडिको मध्यम तहको सिटको सबैभन्दा सस्तो टिकट ६ हजार ४११ अमेरिकी डलरमा उपलब्ध थियो। केही घण्टामै ती टिकट बिक्री भएपछि माथिल्लो तहका सिटको मूल्य करिब १० हजार डलर पुगेको थियो।
मैदाननजिकका सिटका लागि करिब १६ हजार डलर र विशेष आतिथ्य सुविधासहितका टिकटका लागि झण्डै ६० हजार डलरसम्म मागिएको थियो। सिटगिक र स्टबहबजस्ता दोस्रो बजारमा पनि साधारण सिटको मूल्य १० हजार डलरबाट सुरु भएर केही तल्लो तहका सिटको मूल्य ३५ हजार डलरसम्म पुगेको थियो।
यसअघि फिफाको पुनर्बिक्री बजारमा एक विक्रेताले फाइनलको एउटा टिकट २२ लाख ९९ हजार ९९८ डलर अर्थात् करिब ३५ करोड ५० लाख रुपैयाँमा सूचीकरण गरेका थिए। तर उक्त मूल्यमा टिकट बिक्री भएको कुनै प्रमाण छैन। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत पुनर्बिक्री बजारमा कसैले लाखौँ डलर मूल्य राख्दैमा त्यही मूल्यमा टिकट बिक्री भएको नमानिने बताएका थिए।
औसत टिकट मूल्य नै १७ लाख रुपैयाँभन्दा बढी
शुक्रबारसम्म फिफाको आधिकारिक बिक्री प्लेटफर्ममा बाँकी रहेका केही टिकटको मूल्य करिब ३२ हजार डलर थियो। पुनर्बिक्री प्लेटफर्म सिटगिकका अनुसार फाइनलको औसत टिकट मूल्य ११ हजार डलरभन्दा माथि पुगेको छ।
यो मूल्य सन् २०२४ को सुपर बाउलको औसत टिकट मूल्यभन्दा ८ प्रतिशत बढी हो। सिटगिकले बिक्री गरेको कुनै पनि खेलकुद प्रतियोगितामध्ये विश्वकप फाइनल सबैभन्दा महँगो बनेको जनाएको छ।
महँगो मूल्यका बाबजुद भरिए मैदान
विश्वकपका टिकट अहिलेसम्मकै महँगा भए पनि समर्थकको उत्साह भने घटेको देखिएन। फिफाको तथ्यांकअनुसार समूह चरणका ७२ खेलमध्ये आधाभन्दा बढी खेलमा सबै सिट भरिएका थिए। अधिकांश अन्य खेलमा समेत केही सय सिट मात्रै खाली रहेका थिए।
प्रारम्भिक चरणमा उपलब्ध कुल सिटमध्ये करिब ९९.७ प्रतिशत भरिएको फिफाले जनाएको छ। टिकटसम्बन्धी विज्ञ स्कट फ्रिडम्यानका अनुसार समर्थकको माग सही रूपमा अनुमान गर्दै उच्च मूल्य निर्धारण गर्ने फिफाको रणनीति व्यावसायिक रूपमा सफल भएको हो।
‘डाइनामिक प्राइसिङ’ले बढायो मूल्य
फिफाले यस विश्वकपमा पहिलोपटक वास्तविक समयको मागअनुसार टिकटको मूल्य बढ्ने वा घट्ने ‘डाइनामिक प्राइसिङ’ प्रणाली प्रयोग गरेको थियो।
समूह चरणका टिकटको प्रारम्भिक मूल्य ५७५ डलर राखिएको थियो। यो सन् २०२२ को कतार विश्वकपमा उपलब्ध सबैभन्दा महँगो समूह चरणको टिकटभन्दा दोब्बरभन्दा बढी थियो। माग बढ्दै जाँदा अधिकांश समर्थकले प्रारम्भिक मूल्यभन्दा निकै बढी तिर्नुपरेको थियो।
फिफाले सबै टिकट एकैपटक बिक्रीमा नराखी चरणबद्ध रूपमा सार्वजनिक गर्ने ‘स्लो टिकटिङ’ रणनीति अपनाएको विज्ञहरूको विश्लेषण छ। सीमित टिकट मात्रै बाँकी रहेको सन्देशले समर्थकमा तत्काल टिकट किन्नुपर्ने मनोवैज्ञानिक दबाब सिर्जना गरेको बताइएको छ।
‘धनीका लागि मात्रै विश्वकप’ भन्ने आलोचना
अत्यधिक महँगो टिकट, अमेरिका यात्राको खर्च र भिसा समस्याका कारण सामान्य समर्थक विश्वकपबाट टाढिएको भन्दै फिफाको आलोचना पनि भइरहेको छ।
फुटबल सपोर्टर्स युरोपका कार्यकारी निर्देशक रोनान इभानले आर्थिक रूपमा सक्षम, अमेरिका पुग्न सक्ने र भिसा सहजै प्राप्त गर्ने सीमित समर्थकले मात्रै विश्वकपको प्रत्यक्ष आनन्द लिन पाएको टिप्पणी गरेका छन्।
फिफा अध्यक्ष इन्फान्टिनोले यसलाई इतिहासकै सबैभन्दा समावेशी विश्वकप बनाउने दाबी गरे पनि टिकटको चर्को मूल्यले विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव सामान्य समर्थकको पहुँचभन्दा बाहिर पुगेको बहस थप चर्काएको छ।

