काठमाण्डौ । दिगो ग्रुप र घाम पावरले इटहरीस्थित दिगो चार्जपोइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली विकास गर्न रणनीतिक साझेदारी गरेका छन्।
दुवै कम्पनीबीच ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) विकाससम्बन्धी रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको हो। यो सहकार्यले विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई स्वच्छ, भरपर्दो र दिगो बनाउने अपेक्षा गरिएको छ।
परियोजनाअन्तर्गत सौर्य ऊर्जा उत्पादन प्रणालीलाई अत्याधुनिक ब्याट्री भण्डारण प्रविधिसँग एकीकृत गरिनेछ। यसबाट उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय प्रसारण प्रणालीमाथिको निर्भरता घटाउनुका साथै विद्युतीय सवारीसाधन चार्जिङमा नवीकरणीय ऊर्जाको प्रयोग बढाइने कम्पनीहरूले जनाएका छन्।
प्रस्तावित प्रणालीले दिनको समयमा सोलारबाट उत्पादन भएको अतिरिक्त विद्युत् ब्याट्रीमा सञ्चय गर्नेछ। सञ्चित ऊर्जा आवश्यकताअनुसार विद्युतीय सवारीसाधन चार्ज गर्न प्रयोग गरिनेछ।
यसले चार्जिङ केन्द्रमा ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउने, विद्युत्को प्रभावकारी उपयोग गर्ने र अविरल चार्जिङ सेवा सञ्चालनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
दिगोका एकीकृत ऊर्जा समाधानतर्फका व्यवसाय प्रमुख नवीन अधिकारीले घाम पावरसँगको सहकार्य नेपालमा दिगो विद्युतीय सवारीसाधन इकोसिस्टम निर्माण गर्ने अभियानको महत्त्वपूर्ण उपलब्धि भएको बताए।
“चार्जिङ स्टेसनमा सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीलाई एकीकृत गरेर विद्युतीय यातायातको भविष्यलाई थप स्मार्ट, स्वच्छ र भरपर्दो बनाउने पूर्वाधार निर्माण गर्दै छौँ,” उनले भने।
घाम पावरका प्राविधिक निर्देशक प्रदीप हुमागाईंले सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीको संयोजनले ऊर्जा दक्षता बढाउनुका साथै नेपालमा विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधार सुदृढ बनाउन योगदान पुर्याउने बताए।
इटहरीमा विकास गरिने परियोजनालाई भविष्यमा देशभर स्थापना हुने स्वच्छ ऊर्जामा आधारित विद्युतीय सवारीसाधन चार्जिङ केन्द्रका लागि नमुना परियोजनाका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ।
स्थानीय रूपमा उत्पादित सौर्य ऊर्जा र स्मार्ट ऊर्जा भण्डारण प्रणालीको प्रयोगबाट कार्बन उत्सर्जन तथा सञ्चालन खर्च घट्ने, विद्युत् प्रणालीको स्थायित्व बढ्ने र सवारी प्रयोगकर्ताले नियमित चार्जिङ सेवा पाउने कम्पनीहरूको विश्वास छ।
दिगोले विद्युतीय सवारीसाधन, चार्जिङ पूर्वाधार र दिगो यातायात समाधानको क्षेत्रमा काम गर्दै आएको छ। घाम पावरले पनि देशभर सौर्य ऊर्जा समाधान उपलब्ध गराउँदै स्वच्छ ऊर्जा प्रवर्द्धनमा काम गरिरहेको छ।
दुवै कम्पनीले ऊर्जा र विद्युतीय यातायातलाई एकीकृत गर्दै नेपाललाई स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्यतर्फ अघि बढाउने तथा शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।

