काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासनबाट संकलन हुने रकममध्ये २० करोड रुपैयाँ एससी पावर प्रालिमा लगानी गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको असार ३ गते बसेको ११८औँ बैठकले एससी पावर प्रालिद्वारा प्रवर्द्धित कालिकोट जिल्लाको तिला नदीमा निर्माणाधीन ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले एससी पावरको जगेडा सेयरमा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। उक्त लगानीका लागि आवश्यक रकम रिज लाइन इनर्जीले हकप्रद सेयर निष्कासनमार्फत जुटाउने जनाएको छ।
त्यसैगरी, सोही बैठकले कम्पनीको स्वामित्वमा रहेको काङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको १५ लाख कित्ता सेयर खरिदबिक्री वा हस्तान्तरण गर्न नपाइने गरी रोक्का राख्ने निर्णय पनि गरेको छ।
कम्पनीका अनुसार उक्त सेयरहरू ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित आफ्नो नाममा रहेको स्वामित्व अन्तर्गत एनएमबी बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाण्डौमार्फत रोक्का राखिनेछ।

