मंगलवार, श्रावण ५,२०८३ 09:11:05
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:11:05
Bizshala
Global IME Bank Limited

वर्षायाममा विद्युत् प्रणालीमा आउन सक्ने समस्या तत्काल समाधान गर्न विद्युत् प्राधिकरणको निर्देशन

वर्षायाममा विद्युत् प्रणालीमा आउन सक्ने समस्या तत्काल समाधान गर्न विद्युत् प्राधिकरणको निर्देशन
New Office

 

 काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा देशभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न मातहतका कार्यालयलाई उच्च सतर्कतासहित चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सम्भावित बाढी, पहिरो, हुरीबतास तथा अन्य प्राकृतिक विपद्का कारण विद्युत् प्रणालीमा आउन सक्ने समस्या तत्काल समाधान गर्न आवश्यक जनशक्ति, उपकरण र मर्मत सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन्।

श्रेष्ठको अध्यक्षतामा मंगलबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालय तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूको सहभागितामा समीक्षा तथा निर्देशन बैठक बसेको थियो।

बैठकमा वर्षायामले विद्युत् प्रणालीमा पार्न सक्ने प्रभाव, सेवा प्रवाहका चुनौती, ग्राहकका गुनासो व्यवस्थापन तथा प्रदेशस्तरमा सञ्चालित आयोजना र कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको प्राधिकरणले जनाएको छ।

कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् अवरोधलाई न्यूनतम बनाउन समस्या देखिनेबित्तिकै प्राविधिक टोली परिचालन गर्न निर्देशन दिए। योजनाबद्ध रूपमा लाइन बन्द गर्नुपर्ने वा आकस्मिक मर्मतका कारण विद्युत् आपूर्ति प्रभावित हुने अवस्थामा उपभोक्तालाई सकेसम्म अग्रिम सूचना दिन पनि उनले निर्देशन दिएका छन्।

उनले सेवाग्राहीका गुनासो छिटो, सहज र प्रभावकारी रूपमा सुनुवाइ गरी समाधान गर्न तथा सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व कायम गर्नुपर्नेमा जोड दिए।

प्रदेशभित्र सञ्चालनमा रहेका आयोजना तथा वितरण प्रणालीसम्बन्धी कामको नियमित अनुगमन गरी देखिएका समस्या तत्काल समाधान गर्न र सम्बन्धित निर्देशनालयसँग समन्वय गरी आयोजना कार्यान्वयन तीव्र बनाउनसमेत निर्देशन दिइएको छ।

कर्मचारीको क्षमता, सीप र वृत्ति विकासका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तालिम पहिचान गरी प्रस्ताव पेस गर्न पनि श्रेष्ठले निर्देशन दिएका छन्।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन र सम्मान गरिने बताए। सेवा प्रवाहमा लापरबाही गर्ने कर्मचारीलाई भने प्रचलित नियमअनुसार कारबाही गरिने उनले स्पष्ट पारे।

ढकालले परिणाममुखी कार्यसम्पादन, अनुशासित सेवा संस्कृति र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्न प्रदेश कार्यालयहरूलाई आग्रह गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.