काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले आयोगअन्तर्गतका निर्देशक पदका लागि १२ जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको छ।
आयोगले चारवटा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाउँदै सर्टलिस्ट सार्वजनिक गरेको हो।
आयोगले गत असार २६ गते निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो। मापदण्ड तथा प्रत्ययन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो।
सर्टलिस्टमा परेका उम्मेदवारहरूमा प्रा.डा. दयाराम पोखरेल, प्रा.डा. दीपेन्द्रबहादुर श्रेष्ठ, प्रा.डा. दिलीप शर्मा, प्रा.डा. विनोदकुमार यादव, प्रा.डा. मृगेन्द्र अमात्य, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, प्रा.डा. विष्णुप्रसाद शर्मा, प्रा.डा. संघरत्न बज्राचार्य, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सन्ध्या चापागाईँ आचार्य, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. सैलेस प्रधान रहेका छन्।
आयोगका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन गरिनेछ।
प्रस्तुतीकरण र अन्तर्वार्तापछि निर्देशक पदका लागि योग्य उम्मेदवार छनोट गरी नियुक्ति प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

