काठमाण्डौ । फिफा विश्वकप २०२६ को फाइनल खेलले अमेरिकामा दर्शक संख्याको नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार सम्पन्न फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै उपाधि जितेको खेल करिब ६ करोड ३० लाख अमेरिकी दर्शकले प्रत्यक्ष हेरेका छन्।
न्यु जर्सीमा आयोजित फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त समयको १०६औँ मिनेटमा स्पेनले निर्णायक गोल गर्दै उपाधि आफ्नो नाममा पारेको हो।
प्रसारणकर्ता कम्पनीहरूका अनुसार फक्सको अंग्रेजी भाषाको प्रत्यक्ष प्रसारण ३ करोड ८९ लाख दर्शकले हेरे भने कमकास्ट अन्तर्गतको टेलिमुन्डो टेलिभिजन नेटवर्क र पिकक स्ट्रिमिङ प्लेटफर्ममार्फत स्पेनिस भाषाको प्रसारण २ करोड ३९ लाख दर्शकले अवलोकन गरेका थिए। यो संख्या सन् २०२२ को कतार विश्वकप फाइनल हेर्ने २ करोड २३ लाख अमेरिकी दर्शकभन्दा झण्डै तीन गुणा बढी हो।
विश्वकपभरि नै फक्स र कमकास्टका लागि दर्शक सहभागिता उत्साहजनक रह्यो। सञ्चार माध्यमहरूका अनुसार फक्सले विश्वकपसहितका प्रसारण अधिकारका लागि करिब ४८५ मिलियन अमेरिकी डलर र कमकास्टले करिब ६०० मिलियन अमेरिकी डलर खर्च गरेका थिए।
विश्वकपका नकआउट चरणका केही खेलहरूले अमेरिकाका अन्य लोकप्रिय खेलकुद प्रतियोगिताका फाइनल खेलहरूलाई समेत दर्शक संख्यामा उछिनेका छन्। इंग्ल्यान्ड र मेक्सिकोबीचको अन्तिम–१६ को खेल करिब ४ करोड ५० लाख दर्शकले हेरेका थिए, जुन मेजर लिग बेसबलको वर्ल्ड सिरिजको निर्णायक खेल तथा एनबीए फाइनलको निर्णायक खेलभन्दा उल्लेखनीय रूपमा बढी हो।
यद्यपि यो संख्या सुपर बाउल एलएक्स हेर्ने करिब १२ करोड ६० लाख दर्शकभन्दा कम रहे पनि अमेरिकामा लामो समयदेखि अमेरिकी फुटबल, बास्केटबल र बेसबलको छायाँमा रहेको फुटबलको लोकप्रियतामा आएको उल्लेखनीय वृद्धिको संकेतका रूपमा हेरिएको छ।
यसपटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा पहिलो पटक विश्वकप आयोजना गरेका थिए। अमेरिकी समयअनुसार अनुकूल प्राइम–टाइममा खेलहरू आयोजना हुनु तथा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोजस्ता विश्व फुटबलका चर्चित खेलाडीहरूको सम्भावित अन्तिम विश्वकप सहभागिताले पनि दर्शक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको छ।
फक्सले प्रतियोगिताका सबै १०४ खेल अंग्रेजी भाषामा प्रत्यक्ष प्रसारण गरेको थियो। अमेरिका अन्तिम–१६ चरणमा बेल्जियमसँग पराजित भएर बाहिरिएपछि पनि प्रतियोगिताप्रतिको अमेरिकी दर्शकको रुचि उच्च नै रहेको जनाइएको छ।
अबको विश्वकप सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन् भने २०३४ को विश्वकप साउदी अरेबियामा हुनेछ। यी प्रतियोगितामा अमेरिकी दर्शकका लागि खेलको समय कम अनुकूल हुने भएकाले भविष्यमा दर्शक संख्यामा केही असर पर्न सक्ने अनुमान गरिएको छ।

