काठमाण्डौ । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अरबिन्द साहको कामकारबाहीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सांसद् साहले निर्वाचनका क्रममा सार्वजनिक गरेको घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै फेसबुकमार्फत विरोध जनाएका बारा निवासी निजामुद्दिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।
सांसद् साहले बुधबार दिएको उजुरीका आधारमा अन्सारीलाई नियन्त्रणमा लिइएको हो। उनलाई अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। उजुरीको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
अन्सारीले सामाजिक सञ्जालमा सांसद् साहलाई लक्षित गर्दै निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका थिए। उनले सार्वजनिक रूपमा विरोध गर्ने चेतावनीसहित केही आक्रामक अभिव्यक्ति समेत पोस्ट गरेका थिए।
उनको एउटा पोस्टमा सांसद् साहलाई घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै सार्वजनिक स्थानमा कालो मसी दल्ने चेतावनी दिइएको थियो। सोही सामग्रीका आधारमा सांसद् साहले प्रहरीमा उजुरी दिएको बताइएको छ।
यता, अन्सारी निकट व्यक्तिहरूले भने उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि मात्र व्यक्त गरेको र कुनै भौतिक विरोध कार्यक्रममा सहभागी नभएको दाबी गरेका छन्। उनका निकटस्थका अनुसार नेपाली भाषा उनको पहिलो भाषा नभएकाले लेखाइमा केही त्रुटि भएको हुन सक्ने र अभिव्यक्तिकै आधारमा हिरासतमा राख्नु उचित नभएको तर्क गरेका छन्।

