काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि चीन जाने तयारीमा जुटेका छन्। पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आगामी अगस्टको दोस्रो साता बेइजिङ जाने कार्यक्रम रहेको उच्च सरकारी स्रोतले जनाएको छ।
भ्रमणका क्रममा लामिछानेले चिनियाँ विदेशमन्त्री वाङ यी तथा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटवार्ता गर्ने तयारी भइरहेको बताइएको छ। अन्य भेटवार्ताबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
भ्रमण मुख्यतः पार्टी–टु–पार्टी सम्बन्ध विस्तारमा केन्द्रित हुने जनाइएको छ। नेपाल र चीनबीचको सम्बन्धलाई थप गहिरो, अर्थपूर्ण र प्रभावकारी बनाउने विषय पनि छलफलको प्रमुख एजेन्डामा रहने स्रोतको भनाइ छ।
रास्वपा सभापति लामिछानेलाई यसअघि नै चीन भ्रमणको निमन्त्रणा आएको भए पनि विभिन्न कारणले भ्रमण हुन सकेको थिएन। यसपटक भने उच्च तहमा विस्तृत संवाद हुने गरी तयारी अघि बढाइएको बताइएको छ।
भ्रमण टोलीमा सहभागी हुने अन्य तीन सदस्यको नाम हालसम्म सार्वजनिक गरिएको छैन। प्रतिनिधिमण्डलमा कुनै पनि सरकारी अधिकारी सहभागी नहुने र भ्रमण पूर्ण रूपमा पार्टीगत प्रकृतिको हुने जनाइएको छ।
यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका लामिछानेले चीनमा पनि उच्च राजनीतिक तहमा भेट गर्ने तयारी गरेका हुन्।

