काठमाण्डौ । साउन पहिलो सातासम्म देशभर धान रोपाइँ करिब ८० प्रतिशत सम्पन्न भएको छ। कृषि विभागका अनुसार ७ साउनसम्म देशभर ७९.३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो।
विभागको तथ्यांकअनुसार देशभर धान खेतीयोग्य कुल १३ लाख ७३ हजार ८६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० लाख ९० हजार ३३६ हेक्टरमा धान रोपिएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि रहेको छ। यहाँ धान खेती हुने कुल १ लाख ६२ हजार २५० हेक्टर क्षेत्रफलमध्ये ९०.६७ प्रतिशत अर्थात् १ लाख ४७ हजार १०६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।
कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टर खेतीयोग्य जमिनमध्ये ७३।९४ प्रतिशत अर्थात् २ लाख ४ हजार ३४७ हेक्टरमा मात्र रोपाइँ भएको छ।
देशको प्रमुख अन्न उत्पादन क्षेत्र मानिने मधेश प्रदेशमा हालसम्म ७८.६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। मधेशमा कुल ३ लाख ५८० हेक्टर क्षेत्रफलमा धान रोपिएको कृषि विभागले जनाएको छ। गत वर्ष ११ साउनसम्म मधेशमा ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको थियो। यस आधारमा यस वर्ष मधेशमा रोपाइँको गति उल्लेखनीय रूपमा बढेको देखिन्छ।
यस्तै, लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ८०.६५ प्रतिशत अर्थात् २ लाख ४३ हजार ४२ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ। बागमती प्रदेशमा ७७.३३ प्रतिशत, गण्डकी प्रदेशमा ७८.३६ प्रतिशत तथा कर्णाली प्रदेशमा ७७.०५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।
तथ्यांकअनुसार बागमतीमा १ लाख १४ हजार ५२४ हेक्टर, गण्डकीमा ९३ हजार ६०६ हेक्टर र कर्णालीमा ४३ हजार २९० हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त रहेको छ।
समग्रमा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको अवस्था केही सुधारिएको देखिएको छ। गत वर्ष ११ साउनसम्म देशभर ७८.८४ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष सो अवधिअघि नै ७९.३६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि विभागको तथ्यांकले देखाएको छ।

