काठमाण्डौ । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा गोली चल्दा एक युवकको मृत्यु र २१ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी हरिनगरा, भुटाहा, कसनागञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु जारी गरेका हुन्। प्रशासनले अर्को आदेश नभएसम्म कर्फ्यु कायम रहने जनाएको छ।
आइतबार राति देवानगञ्जमा दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत भएपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। गोली लागेर एक युवकको मृत्यु भएको छ भने आठ स्थानीयवासी, आठ नेपाल प्रहरी र पाँच सशस्त्र प्रहरी गरी २१ जना घाइते भएका छन्।
घटनापछि देवानगञ्जसहित आसपासका क्षेत्रमा तनाव बढेकाले थप अप्रिय घटना हुन नदिन कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ।
कर्फ्यु लागू भएका क्षेत्रमा आवतजावत गर्न तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
प्रशासनका अनुसार हरिनगरा बजार क्षेत्रको पूर्वमा नूनिया टोल, पश्चिममा खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यु लागू गरिएको छ।
भुटाहा बजार क्षेत्रमा पूर्वतर्फ मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्मको क्षेत्र समेटिएको छ।
त्यस्तै, कसनागञ्ज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यु जारी गरिएको छ।
घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म प्रतिबन्ध लगाइएको छ।
देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकको मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिएको छ।
घटनाको कारण र गोली चलेको परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

