सोमबार, श्रावण ११,२०८३ 02:15:09
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 02:15:09
Bizshala
Global IME Bank Limited

चाँदीको व्यापारमा हिमालयन बुलियनको छलाङ, ९ महिनामै कारोबार ९.७८ अर्ब

सञ्चालन नाफा ५.६४ प्रतिशत, नगद प्रवाह ५० करोड नाघ्यो; कुल कर्जा स्वपुँजीको आधाभन्दा कम

चाँदीको व्यापारमा हिमालयन बुलियनको छलाङ, ९ महिनामै कारोबार ९.७८ अर्ब
New Office

 

 

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यवृद्धि र लगानीका रूपमा यसको माग बढेसँगै हिमालयन बुलियन कम्पनीको कारोबारमा असाधारण वृद्धि देखिएको छ। कम्पनीले गत आर्थिक वर्षको नौ महिनामै ९ अर्ब ७८ करोड ९० लाख रुपैयाँबराबरको चाँदी बिक्री गरेको छ।

यसअघि सन् २०२५ मा ३० करोड २० लाख रुपैयाँ र सन् २०२४ मा ४७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले पछिल्लो नौ महिनामा व्यापारको आकार उल्लेख्य रूपमा विस्तार गरेको हो।

कम्पनीका अनुसार विश्व बजारमा चाँदीको मूल्य उच्च हुनु, लगानीयोग्य सम्पत्तिका रूपमा चाँदीप्रतिको आकर्षण बढ्नु र घरेलु बजारमा माग विस्तार हुनु कारोबार वृद्धिका प्रमुख कारण हुन्।

कारोबारसँगै नाफा पनि बढ्यो

कारोबारको आकार बढेसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा समेत सुधार आएको छ। नौ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफा मार्जिन ५.६४ प्रतिशत कायम भएको छ। सन् २०२५ मा यस्तो मार्जिन ४.२३ प्रतिशत थियो।

कम्पनीको ग्रस क्यास अक्रुअल अर्थात् खुद नाफा र ह्रासकट्टीको योगमा पनि उल्लेख्य वृद्धि भएको छ। सन् २०२५ मा ४ करोड २० लाख रुपैयाँ रहेको ग्रस क्यास अक्रुअल पछिल्लो नौ महिनामा बढेर ५० करोड ५० लाख रुपैयाँ पुगेको छ।

यसले कम्पनीको कारोबारबाट नगद सिर्जना गर्ने क्षमता अघिल्लो अवधिको तुलनामा निकै सबल बनेको देखाउँछ।

थप पुँजीले घटायो कर्जाको भार

हिमालयन बुलियनको पुँजीगत संरचनामा पनि सुधार आएको छ। सन् २०२४ मा १.२२ गुणा रहेको समग्र गियरिङ अनुपात सन् २०२५ मा ०.९५ गुणामा झरेको थियो।

लगानीकर्ताले थप पुँजी लगानी गरेपछि कम्पनीको इक्विटी ३० करोड ७० लाख रुपैयाँ पुगेको छ। त्यससँगै पछिल्लो नौ महिनामा गियरिङ अनुपात अझ घटेर ०.४८ गुणामा सीमित भएको छ।

यसको अर्थ कम्पनीको कुल कर्जा स्वपुँजीको आधाभन्दा कम छ। घट्दो गियरिङ अनुपातले कम्पनीको कर्जामाथिको निर्भरता कम हुँदै गएको र वित्तीय जोखिम नियन्त्रणमा रहेको संकेत गर्छ।

ब्याज तिर्ने क्षमता बलियो

कम्पनीको ब्याज भुक्तानी क्षमतामा पनि उल्लेख्य सुधार देखिएको छ। सन् २०२४ मा १.२० गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२५ मा १.१० गुणा थियो।

तर पछिल्लो अवधिमा सञ्चालन नाफा तीव्र रूपमा बढेपछि कम्पनीको ब्याज कभरेज अनुपात ६०.६९ गुणा पुगेको छ। अर्थात् कम्पनीको सञ्चालन नाफा वार्षिक ब्याज दायित्वभन्दा ६० गुणाभन्दा बढी छ।

त्यस्तै, कुल ऋण र ग्रस क्यास अक्रुअलको अनुपात सन् २०२४ मा ४५.८८ गुणा रहेकामा पछिल्लो नौ महिनामा घटेर ०.५५ गुणामा झरेको छ। यसले कम्पनीको आन्तरिक नगद प्रवाहको तुलनामा ऋणको भार निकै कम भएको देखाउँछ।

कम्पनीले ग्राहकबाट इन्भेन्टरी मूल्यको २५ प्रतिशतसम्म अग्रिम रकम लिने गरेको छ। यस्तो व्यवस्थाले चाँदी आयात, भण्डारण तथा बिक्रीका लागि आवश्यक चालु पुँजी व्यवस्थापनमा सहजता दिएको छ।

९९.९९ प्रतिशत शुद्ध चाँदीको कारोबार

सन् २००० मा स्थापना भएको हिमालयन बुलियनले चाँदीका ग्रान्युल्स आयात गरी बुलियन र सिक्काको आकारमा उत्पादन तथा बिक्री गर्दै आएको छ।

कम्पनीले ९९.९९ प्रतिशत शुद्धता भएको चाँदी प्रमाणिकताको प्रमाणपत्रसहित उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले मुख्य रूपमा दुबई र हङकङबाट चाँदी आयात गर्छ।

केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ इस्युअर रेटिङ दिएको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम स्तरको रहे पनि प्रतिकूल आर्थिक तथा व्यावसायिक परिस्थितिबाट प्रभावित हुन सक्ने जोखिम रहेको जनाउँछ।

कम्पनीको सञ्चालक समिति अध्यक्षमा भीष्म गौतम छन् भने सुमन गौतम निर्देशक छन्। भीष्म गौतमसँग चाँदी कारोबारमा दुई दशकभन्दा बढीको अनुभव छ भने सुमन गौतम लगानी व्यवस्थापन क्षेत्रमा जानकार मानिन्छन्।

नेपालको चाँदी बुलियन बजारमा एकमात्र संगठित सहभागीका रूपमा रहेको हिमालयन बुलियनको कारोबार वृद्धि, नगद प्रवाह, घट्दो कर्जा अनुपात र बढ्दो ब्याज भुक्तानी क्षमताले कम्पनीको वित्तीय अवस्था विगतको तुलनामा निकै सुदृढ बनेको देखाउँछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.