काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लङ्घन गरेको भन्दै तीनवटान ब्रोकर कम्पनी र एउटा मर्चेन्ट बैंकरलाई कारबाही गरेको छ। बोर्डले ती कम्पनीहरुलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको हो।
बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७क को उपदफा (४) को खण्ड (घ) तथा दफा ७ग मा रहेको व्यवस्था उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको हो।
कारबाहीमा पर्ने संस्थामध्ये सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँका दरले जरिवाना गरिएको छ।
बोर्डले यी संस्थामाथि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानूनी दायित्व पूरा नगरेको निष्कर्षका आधारमा ऐनको दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम जरिवाना गरेको जनाएको छ।
यसैबीच, धितोपत्र बोर्डले मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई पनि सचेत गराएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्ने क्रममा २ हजार ५३३ जना सर्वसाधारण शेयरधनीको खातामा जम्मा हुनुपर्नेभन्दा बढी सेयर जम्मा भएको पाइएपछि बोर्डले कारबाही गरेको हो।
बोर्डका अनुसार उक्त कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ को खण्ड (ख) बमोजिम व्यवसायिक स्तर पालना नगरेको ठहर भएको छ। त्यस आधारमा बोर्ड सञ्चालक समितिको निर्णयअनुसार नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली, २०६४ को नियम २८ को खण्ड (क) बमोजिम सानिमा क्यापिटललाई पहिलो पटकका लागि सचेत गराइएको हो।

