काठमाण्डौ । धितोपत्र दलाल व्यबसायीहरुलाई धितोपत्र बोर्डले तोकेको २० करोडको चूक्तापूँजी ८ वटा ब्रोकरले समयमै पुर्याएका छन् । सेबोनले २०७९ साल भदौमा सबै ब्रोकरहरुलाई न्यूनतम २० करोड पूँजी पुर्याउन भनेको थियो । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प समेत माग गरेर समय थप गर्न माग गरेका थिए ।
तथापी बोर्ड स्रोतले दिएको जानकारी अनुसार भने ब्रोकहरुलाई पूँजी पुर्याउन समय थप गर्ने मनसायमा भने बोर्ड छैन । स्रोतले भन्यो, ‘हामीले ३ वर्षको समय दिएको हो । यसमा ढिलो हुनुमा ब्रोकरहरुकै कमजोरी हो । नयाँ ब्रोकरहरु पूँजी पुर्याएर नै आएका छन् । अब पुराना ब्रोकरहरुले पनि समयमा नै पुर्याउनु पर्छ ।’
यसैबीच हालसम्म ८ वटा ब्रोकरहरुले भने सेबोनले तोकेको चूक्ता पूँजी समयमै पुर्याएका छन् । धितोपत्र बोर्डले यही आर्थिक वर्षभित्र पूँजी पुर्याउन ब्रोकरहरुलाई समय सीमा दिएको छ ।
हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त अब पुराना ३० वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।
यी हुन् बोर्डले तोकेको पूँजी पुर्याउने ८ ब्रोकरहरुः
१ अग्रवाल सेक्यूरिटिज प्राइभेट लिमिटेड
२ जेएफ सेक्यूरिटिज कम्पनी प्राइभेट लिमिटेड
३ कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिज प्राइभेट लिमिटेड
४ लिञ्च स्टक मार्केट लिमिटेड
५ नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिज ट्रेडिङ प्राइभेट लिमिटेड
६ सुन्धारा सेक्यूरिटिज लिमिटेड
७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिज
८ श्रीकृष्ण सेक्यूरिटिज लिमिटेड