काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १३.८४ अंकले घटेर २ हजार ६२०.३९ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७३ प्रतिशतले घटेर ४४१.४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार यज्ञ घिमिरे भन्छन्, ‘यतिबेला बजार घटेतापनि यो समय सेयर एक्युमुलेशन गर्ने बेला हो । गभर्नर नियुक्तिको विषयले बजार घटेको कुरामा त्यति सत्यता छैन । बजारमा केही तत्वले बजार घटाएर सस्तोमा सेयर खरिद गर्ने प्रपञ्च रचेको देखिन्छ ।’
उनले बजारलाई कारोबारले साथ दिईरहेकाले डराउनु पर्ने कुनै कारण नभएको बताए ।
अर्का बजार जानकार टेकेन्द्र थपलियाले लगानीकर्ता निरुत्साहित हुँदा बजारमा यतिबेला निरन्तर गिरावट आईरहेको बताए । गभर्नर नियुक्तिमा भईरहेको ढिलासुस्ती, सरकारको विषयमा आएका नकारात्मक खबर र अल्पकालिन कारोबारी हाबी हुँदा बजारमा चार्म देखिदैन, ’ उनले भने ।
यद्यपी गभर्नर नियुक्ति भएको खण्डमा र बजेटको मिति पनि नजिकिएकाले बजारमा छिट्टै सुधार आउनसक्नेमा उनी ढुक्क देखिए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह २.६९ प्रतिशत र विकास बैंक समूह ०.८६ प्रतिशतले घटे ।
हाईड्रो समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.९६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४०, फाइनान्स ०.०९, होटल १.७४,लगानी १.०८,जीवन बीमा ०.८८,उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त ०.२३, म्युचुअल फण्ड ०.०२,निर्जीवन बीमा १.४३ र व्यापार समूह १.१९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड ३२ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै युनिभर्सल पावरको ५१ करोड ४९ लाख, क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख र ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढ्यो ।
पिपुल्स पावरका लगानीकर्ताले पनि आज ८.८६ प्रतिशत,उपकार लघुवित्तका लगानीकर्ताले ६.३०, नेपाल पुनर्बीमाकाले ६.१६ प्रतिशत र लुम्बिनी विकास बैंकका लगानीकर्ताले ३.५० प्रतिशतले कमाए ।
गुराँस लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीका लगानीकर्ताको सम्पत्ति आज १० प्रतिशतले घट्यो । यस्तै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्तको ९.७३ र बाराही हाईड्रोका लगानीकर्ताको सम्पत्ति ९.५५ प्रतिशतले घट्यो ।