काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको बताएका छन् । प्रनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेकाले यसलाई विकेन्द्रीकृत गर्न आवश्यक रहेको बताए ।
उनले अहिले करिब १९ लाख ४० हजार ऋणी रहेको र यसमध्ये ०.०१ प्रतिशत ऋणीले मात्र ३.९ प्रतिशत कर्जा प्रयोग गरेको बताए । ‘यसबाट केही व्यक्तिलाई मात्रै धेरै ऋण गएको छ कि भन्ने देखिन्छ,’ पौडेलले भने, ‘यसरी सीमित व्यक्तिलाई मात्र धेरै ऋण जानु राम्रो हो वा होइन र त्यसरी प्रवाहित कर्जाले उत्पादनमा राम्रो गरेको छ वा छैन भन्ने चासोको विषय हो ।’
यस्तै गभर्नर पौडेलले संशोधनका क्रममा रहेको बाफियाले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालक र व्यवसायीलाई छुट्याउन खोजेको बताए । यस्तै यसले उल्लेख्य स्वामित्व भएका व्यक्ति र बैंकसँग सम्बद्ध व्यक्तिको पहिचान गर्न खोजेको समेत उनले बताए ।