काठमाण्डौ। नेपाल राष्ट्र बैंकले डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। नयाँ व्यवस्था अनुसार अब डिजिटल वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य हुनेछ भने हालका सबै प्रयोगकर्ताले पनि २०८३ असोज मसान्तभित्र आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ।
राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गर्दै उक्त व्यवस्था लागू गरेको हो। संशोधित निर्देशिका अनुसार भुक्तानी सेवा प्रदायकहरूले नेपाली नागरिकका लागि नयाँ डिजिटल वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण प्रयोग गर्नुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार अनुमतिप्राप्त संस्थाहरूले २०८३ असोज मसान्तभित्र आफ्ना सबै वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक भए–नभएको स्वपरीक्षण गर्नुपर्नेछ। राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका ग्राहकलाई मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट परिचयपत्र नम्बर अद्यावधिक गराउनुपर्ने दायित्व पनि सेवाप्रदायकलाई दिइएको छ।
त्यस्तै, राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकलाई परिचयपत्र प्राप्त गरी विवरण अद्यावधिक गर्न प्रत्येक महिनामा मोबाइल एप वा अन्य माध्यमबाट सूचना दिनुपर्ने व्यवस्था गरिएको छ। यसले सबै प्रयोगकर्ताको विवरण क्रमशः राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्ध गर्ने लक्ष्य राखेको राष्ट्र बैंकको अपेक्षा छ।
संशोधित व्यवस्थाले विदेशमा रहेका नेपाली नागरिकलाई पनि सहजता दिएको छ। अब विदेशमै रहेका नेपालीले अनलाइनमार्फत डिजिटल वालेट खोल्न सक्नेछन्।
प्रारम्भिक चरणमा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका आवश्यक कागजातका आधारमा वालेट खोल्न सकिने भए पनि नेपाल फर्किएको छ महिनाभित्र सम्बन्धित संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

