काठमाण्डौ । सरकारले एक रुपैयाँको सिक्काको नयाँ डिजाइनमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगेको हो ।
यसअघि राष्ट्र बैंकले मुस्ताङको घार गुम्बाको तस्वीर समेटिएको डिजाइन स्वीकृतिका लागि पठाएको थियो। तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन तयार गर्न निर्देशन दिएको थियो।
राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन वा डिजाइन परिवर्तन मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने कानूनी व्यवस्था छ।
नयाँ सिक्कामा नेपालको नक्सा यथावत् रहनेछ भने सिक्काको तौल र आकारमा भने परिवर्तन गरिनेछ।
हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का उत्पादन गर्दा त्यसको वास्तविक लागत अंकित मूल्यभन्दा बढी पर्ने भएकाले सरकारले उत्पादन खर्च घटाउने उद्देश्यले नयाँ डिजाइनमा स्टिल प्रयोग गर्ने तयारी गरेको हो। अहिले प्रयोग भइरहेको मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्दा उत्पादन लागत कम हुने, वातावरणीय दृष्टिले पनि उपयुक्त हुने र दीर्घकालीन रूपमा लाभदायी हुने राष्ट्र बैंकको अपेक्षा छ।
यसअघि पनि सिक्काको तौल घटाउने प्रयास गरिएको थियो। नयाँ डिजाइनमा आकार र तौल दुवै परिमार्जन गरी उत्पादनलाई लागत–प्रभावकारी बनाइनेछ।
सांस्कृतिक पक्षलाई समेत निरन्तरता दिँदै नयाँ सिक्कामा परम्परागत रूपमा रहने ६४ वटा थोप्ला कायम राखिनेछन्, जसलाई ६४ योगिनीको प्रतीक मानिन्छ। सिक्कामा समावेश गरिने चित्र र चिन्हहरूले नेपालको इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रतिनिधित्व गर्ने भएकाले यस्ता विषयहरू विशेष महत्वका साथ समेटिने राष्ट्र बैंकले जनाएको छ।

