आईतवार, श्रावण १०,२०८३ 10:20:43
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 10:20:43
Bizshala
Global IME Bank Limited

मनसुनी वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, अवरुद्ध छन् यी राजमार्ग

मनसुनी वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, अवरुद्ध छन् यी राजमार्ग
New Office

काठमाण्डौ । लगातारको मनसुनी वर्षाले देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग र सडक सञ्जालमा व्यापक असर परेको छ। बाढी र पहिरोका कारण दर्जनौं सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध हुँदा यात्रु र मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीको बिहान साढे ६ बजेसम्मको विवरणअनुसार कोशीदेखि कर्णाली प्रदेशसम्मका मुख्य राजमार्गमा बाढी र पहिरोले सडक अवरुद्ध बनाएको छ। केही स्थानमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइए पनि अधिकांश प्रभावित क्षेत्रमा यात्रा जोखिमपूर्ण बनेको छ।

कोशी प्रदेशमा इलामस्थित मेची राजमार्गको राजदुवाली खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। भोजपुर र खोटाङमा मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो र बाढीले सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा समय निर्धारण गरेर मात्रै सवारी सञ्चालन गर्न दिइएको छ। काभ्रेको बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ भने मकवानपुरस्थित कान्ति लोकपथ साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहने व्यवस्था गरिएको छ।

यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक र रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड बाढी तथा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

गण्डकी प्रदेशमा मुस्ताङको जोमसोम–कोरला सडकखण्ड बाढीले ठप्प बनाएको छ भने बागलुङस्थित कालीगण्डकी करिडोर पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा छ। लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक पूर्ण रूपमा बन्द हुँदा स्थानीय आवागमन प्रभावित भएको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमअन्तर्गत भेरी करिडोर ९जाजरकोट–डोल्पा सडक० पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

प्रहरीका अनुसार प्रभावित क्षेत्रमा पहिरो पन्छाउने र सडक खुलाउने काम जारी रहे पनि वर्षा नरोकिएकाले थप जोखिम कायम छ। नेपाल प्रहरीले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा गर्दा सडक अवस्थाबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा ट्राफिक प्रहरीबाट जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.