काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८८ प्रतिशत अर्थात २३.१९ अंकले बढेर २ हजार ६५३.०९ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले बढेर ४५१.७१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यससँगै आज बजारमा चार दिनपछि हरियाली छाएको छ ।
आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘अब सिजिनल हिसाबले पनि बजार बढ्ने समयनै हो । लामो समय चल्न नसकेको संसद चल्ने, बाफियाको प्रभाव पनि तत्कालै नदेखिने भएसँगै र गभर्नर पनि पूँजी बजारप्रति सकारात्मक देखिएकाले बजारमा अब सकारात्मक माहोल बन्दैछ ।’
अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु)ले पनि बजार घट्न रोकिएको बताए । ‘प्राविधिक रुपमा हालको बढोत्तरी २७४० देखि २७५० सम्म बजार फेरि एकपटक पुग्न सक्छ । हाईड्रोमा पहिलेदेखि नै खेलाडी लागेकाले विकास बैंकपछि अहिले लगानीकर्ता फेरि हाईड्रोतर्फ फर्किएको छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात २.७५ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.५९ प्रतिशत, विकास बैंक ०.०७, फाइनान्स ०.८७, हाईड्रो २.४७, लगानी १.२९, उत्पादन तथा प्रशोधन ०.२०, लघुवित्त ०.५४, म्युचुअल फण्ड ०.०३, निर्जीवन बीमा ०.४५ र व्यापार समूह ०.७१ प्रतिशतले बढ्यो ।
यो दिन होटल र जीवन बीमा समूह मात्रै घटे । यी समूहहरु आज क्रमशः ०.०४ र ०.०८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६२ करोड २८ लाख बढीको कारोबार भयो । युनिभर्सल पावरको पनि आज ५४ करोड ९५ लाख, बुटवल पावरको ५१ करोड ३५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ८९ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बुटवल पावर, मकर जितुमाया सुरी, पियोर इनर्जी, दोल्ती पावर,बिन्ध्यवासिनी हाईड्रोपावर र मायोखोला हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
मेन्छियाम हाईड्रोपावरको सेयरमूल्य पनि आज ९.२९ प्रतिशत, घलेम्दी हाईड्रोको ९.१४ र उन्नती सहकार्यको सेयरमूल्य ७.८५ प्रतिशतले बढ्यो ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सार्वधिक अर्थात ८.६१ प्रतिशतले घट्यो । भूगोल इनर्जीको सेयरमूल्य पनि आज ८.१८ प्रतिशत,मिथिला लघुवित्तको ५.२८ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.०८ प्रतिशतले घट्यो ।