काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ३.९० अंकले घटेर २ हजार ६५४.७५ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४५२.४८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको १ करोड ६४ लाख ७७५ कित्ता सेयर ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज भएको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने १३ अर्ब १८ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद शर्मा भन्छन्, ‘दुई–तीन अंक बजार घट्नुलाई सामान्य नै मान्न सकिन्छ । आज कारोबार घट्नुलाई भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्न सकिन्छ ।’
उनले बजारमा विस्तारै असारको प्रभाव पनि देखिन थालेको बताए । यद्यपी बजार असारको तेस्रो साताबाट बजारले राम्रै गति लिनेमा उनी ढुक्क देखिए ।
अर्का बजार जानकार बिरेन्द्र विष्टले पनि एकदुई साता बजार साइडवेजमै रहने बताए । आज खरिद र बिक्री गर्ने दुवै पक्ष पछि हट्दा कारोबारमा भने कमी आएको उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह १.१०, व्यापार ०.११ र हाईड्रो ०.२७ प्रतिशतले बढ्यो ।
होटल समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.५८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४५, विकास बैंक ०.२०, फाइनान्स ०.४९, लगानी ०.४३,जीवन बीमा ०.४७, उत्पादन तथा प्रशोधन ०.१४, म्युचुअल फण्ड ०.३४, निर्जीवन बीमा ०.२५ र अन्य समूह ०.१५ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७४ करोड ९६ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावरको पनि आज ६० करोड ३८ लाख, ङादी ग्रुप पावरको ४६ करोड ११ लाख, राधी विद्युतको ३८ करोड १८ लाख र सोल्टी होटलको ३० करोड २९ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कम्पनीमध्ये पियोर इनर्जीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढ्यो ।
बुटवल पावरको सेयरमूल्य पनि आज ७.७३ प्रतिशत, सामुदायिक लघुवित्तको ७.१३,अपर हेवाखोलाको ५.२८ र विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्य ५.१६ प्रतिशतले बढ्यो ।
गार्डियन माइक्रो लाइफको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ४.६२ प्रतिशतले घट्यो । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.९४ प्रतिशत,सिन्धु विकास बैंकको ३.७७, क्रेष्ट माइक्रो लाइफको ३.२१ र ओरियन्टल होटल्सको सेयरमूल्य २.८७ प्रतिशतले घट्यो ।