काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०४ प्रतिशत अर्थात १.०७ अंकले घटेर २ हजार ६५३.६८ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ४५२.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘अहिले बजारमा अल्पकालिन लगानीकर्ता हाबी भएका छन् । लगानीकर्तामा केही जलविद्युत कम्पनीमा विशेष आकर्षण देखिन्छ । अहिले असारको महिनापनि भएको हुँदा बजार साइडवेजमा चलिरहेको छ । ’
उनले पूँजीबजारमा अझैपनि नीतिगत उल्झन बाँकी नै रहेको बताए । बैंक तथा संस्थागत लगानीकर्ता भित्रिए र व्यक्तिगततर्फको १५ करोडको सीमा हट्न आवश्यक रहेको उनले औंल्याए । यद्यपी विगतमा झै जुलाईबाट बजारले गति लिनेमा उनी ढुक्क देखिए ।
अर्का बजार जानकार एसपी चौलागाईको विचारपनि हाल बजार साइडवेजमै रहेको छ । ‘हाल बजारमा अपरेटरहरुले चलाएका केही सीमित स्टकहरु मात्रै चलेका छन् । बजारमा असारको प्रभाव पनि देखिन्छ । यसैबीच केही लगानीकर्ता बजार प्रवेश गर्ने जमर्को समेत गर्दैछन्’ उनले भने ।
वित्त नीतिलाई सहयोग हुने गरी मौद्रिक नीति आउने कुरा गभर्नरले गरिरहेकाले बजारमा आश गर्ने ठाँउ भने बाँकी रहेको उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ समूहमा हरियाली छायो भने अन्य ७ वटामा रातो पोतियो । आज हाईड्रो समूह ०.५३ प्रतिशत, लगानी ०.०२, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.३९, म्युचुअल फण्ड ०.३० र अन्य समूह ०.२९ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७१ करोड ७८ लाख बढीको सेयर कारोबार भयो । यस्तै सिंगटी हाईड्रोको ६१ करोड ८० लाख,बुटवल पावरको ४५ करोड ३२ लाख, ङादी ग्रुप पावरको ३७ करोड ९२ लाख र युनियन हाईड्रोको ३० करोड बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै सर्किट लाग्यो । आज पियोर इनर्जी र जोशी हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
युनियन हाईड्रोको सेयरमूल्य पनि आज ९.२२ प्रतिशत, सिंगटी हाईड्रोको ८.०९ र पन्चकन्या हाई हाईड्रोको सेयरमूल्य ८.०५ प्रतिशतले बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज लोवर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्यमा आज १० प्रतिशतको गिरावट आयो ।
यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.३९ प्रतिशत,ग्रिन डेभलपमेन्ट बैंकको ३.८६ र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.१० प्रतिशतले घट्यो ।