काठमाण्डौ । हाल नेप्सेमा सूचिकृत भएका ९२ वटा ब्रोकरहरु मध्ये अझै ३० वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्याउन बाँकी रहेको छ । पछिल्लोपटक पूँजी पुर्याउन बाँकी रहेका ३८ वटा पुराना ब्रोकरहरुमध्ये ८ वटा ब्रोकरहरुले हालैमात्रै तोकिएको पूँजी पुर्याएका छन् ।
बाँकी रहेका ब्रोकरहरुलाई पूँजी बढाउन दिइएको समय सीमा यही असार मसान्तमा सकिदै छ । तर धितोपत्र बोर्डले हालसम्म समय थप्न भने कुनै पनि प्रक्रिया अघि बढाएको छैन । यसैबीच ब्रोकरहरुले समय थप गर्न माग गरिरहेका छन् । ब्रोकरहरुले समय थप्न माग गरेको र धितोपत्र बोर्ड पनि यसमा सहमत देखिन्छ । तर यस विषयमा भने हालसम्म सामान्य टिप्पणी उठाउने काम पनि भएको छैन । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार समय थप्ने हो भने पनि पहिले कानून बिभागबाट टिप्पणी उठ्नुपर्छ ।
त्यसपछि अर्थ मन्त्रालयस्थित कानून विभागले स्वीकृती गरे पछि मन्त्रीस्तरिय निर्णयबाट समयावधि थप हुन सक्छ । यी सबै काम हुन पनि २÷३ साता समय लाग्न सक्छ । अब यी सबै काम हुन २० दिन मात्रै बाँकी रहेको छ । यदि समय थप नभए ३० वटा ब्रोकहरुलाई धितोपत्र ऐन अनुसार कारबाही गर्नुपर्ने हन्छ । अहिलेसम्म ब्रोकरहरु समय थप हुने आशामा रहेका छन् । तर समय थप्ने विषयमा भने केही पनि काम भएको छैन । यसैबीच स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकाल विदेशमा रहेको एक ब्रोकरले गुनासो गरे ।
धितोपत्र दलाल व्यबसायीहरुले धितोपत्र बोर्डले तोकेको २० करोडको चूक्तापूँजी पुर्याउनु पर्ने हुन्छ । सेबोनले २०७९ साल भदौमा सबै ब्रोकरहरुलाई न्यूनतम २० करोड पूँजी पुर्याउन भनेको थियो । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प समेत माग गरेर समय थप गर्न माग गरेका थिए । हाल ब्रोकरहरुले धितोपत्र बोर्डले समयमा नै मर्जरको निर्देशिका नल्याएका कारण आफूहरुले समयमै मर्जरको प्रक्रिया टुङ्ग्याउन नसक्ने बताउँदै आएका छन् ।
हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त अब पुराना ३० वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।